दुवै अध्यक्षले बोलाए केन्द्रीय समिति बैठक, जुधाइ अब सूर्य चिह्नमा

आदर्श समाज संवाददाता
पौष ७, २०७७
ncp

काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि उत्पन्‍न परिस्थितिपछि सत्तारुढ दल नेकपाका नेताहरू विभाजन प्रक्रियामा औपचारिक रूपमा प्रवेश गर्ने भएका छन् । दुवै पक्षले कोकता छन् भन्‍ने पहिचान गर्न आज  केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइकाे छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल/माधवकुमार नेपाल समूहको केन्द्रीय समितिले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही र निष्कासन निम्ति निर्णय लिने सम्भावना छ ।  प्रधानमन्त्री ओलीले विहान नौ बजे बालुवाटारमा बैठक बोलाएका छन् भने दाहाल/ नेपाल समूहले १ बजे कार्की पार्टी प्यालेस माइतीघरमा बैठक बोलाएको छ ।

नेकपा केन्द्रीय समितिमा ४ सय ४१ केन्द्रीय सदस्य छन् । तिनलाई दुवै पक्षले बैठकमा सहभागी हुन आमन्त्रण गरेका छन् । ओलीको पक्षबाट पार्टी कार्यालय सचिव ईश्‍वरी रिजालले ‘एसएमएसबाट लन्चसहित’ नौ बजे वालुवाटारमा बैठकको निम्ता गरेका हुन् ।

दाहाल/नेपाल पक्षबाट श्रीराम ढकालले ४ सय ४१ जनालाई कार्की पार्टी प्यालेस माइतीघरमा बोलाएका छन् । एमाले र माओवादी एकता हुँदा दुई पक्षबाट एक/ एकजना पार्टी सचिव राखिएको थियो । दुवै पक्ष केन्द्रीय समितिमा को कता छन् भन्‍ने गणितीय हिसाबमा छन् । प्रारम्भिक हिसाबअनुसार, दाहाल/नेपालतिर ३ सय ६ जना देखिएका छन् भने ओलीतिर १ सय ३५ मात्र भएको आँकलन छ ।

पार्टी एकता हुँदा केन्द्रीय कमिटीमा एमालेबाट २सय ४१ र माओवादीबाट २ सय  सदस्य थिए । त्यो तथ्यांकअनुसार, पूर्वएमालेका सदस्यहरूमध्ये नेपालतिर ११० र ओलीतिर १३१ सदस्य भएको अनुमान गरिएको छ ।

दाहाल पक्षधर (पूर्वमाओवादी) बाट २ सय जना केन्द्रीय सदस्य बनेकामध्ये रामबहादुर थापातिर २२ थिए । थापा पक्षका २२ मध्ये थापा र उनका सहयोगी केन्द्रीय सदस्यबाहेक अन्य २० जना दाहाल(नेपाललाई समर्थन गर्ने सम्भावना देखिएको छ ।

पार्टी विभाजननिम्ति केन्द्रीय समितिमा ओली समूहको ४० प्रतिशत सदस्य नपुग्‍ने देखिन्छ । संसद विघटन भइसकेको परिस्थितिमा केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन नसकेको खण्डमा विभाजन होइन कि ‘चोइटिएको पार्टी’ मात्र बन्‍नेछ र निर्वाचन आयोगबाट बैधता प्राप्त गर्ने छैन ।

पार्टी विभाजनसँगै ‘सूर्य चिन्ह’का निम्ति विवाद सिर्जना हुने निश्‍चित छ । पार्टी एकतासँगै नेकपाको चुनाव चिन्ह सूर्य हुने गरी निर्वाचन आयोगमा दर्ता भएको छ । त्यसअतिरिक्त निर्वाचन आयोगमा केन्द्रीय समितिका सदस्यहरूको नामावली दर्ता छ । आयोगले पूर्ववतः दर्ता भएको सूचिअनुरुप बहुमत जता हुन्छ, उसैको पक्षमा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दिनुपर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width