पोखरा | संघीयता लागु भएपछि प्रदेश तहमा पहिलो पटक दलहरुले विशेष अधिवेशन मागेका छन् । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरेका हुन् ।
दुवै पार्टीका १७ सांसदले हस्ताक्षर गरी प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीमार्फत प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिवेशन बोलाउन निवेदन बुझाए । प्रदेश प्रमुख शेरचनले स्वास्थ्य समस्या देखाएपछि कर्मचारीमार्फत् निवेदन दर्ता गराइएको हो ।
संविधानअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्रै अर्को अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । २०७७ असोज २६ मा बजेट अधिवेशन अन्त्य भएको हो । पछिल्लो अधिवेशन अन्त्य भएको २ महिनामात्रै बितेको बेला २ दलले विशेष कारण देखाएर सदन खोल्न दबाब दिएका हुन् । प्रदेशसभाको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले मिति र समय खुलाएर बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर कति समयभित्र बोलाउनुपर्ने भनेर तोकिएको छैन ।
आफ्नो माग जनताको जनजीविकासँग जोडिएकोले तत्कालै संसद्मा छलफल चलाउनुपर्ने प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए । ‘हामीले सुरुदेखि नै कोरोनाका विषयमा सरकारलाई सचेत गराउँदै आएको हो । हाउस (संसद्) स्थगित भएपछि पनि दलको तर्फबाट औपचारिक रुपमा डेलिगेसन गएर मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिएका थियौं । त्यसमा कुनै प्रगति देखिएन,’ उनले भने, ‘महामारीको प्रभाव बढिरहेका बेला जनताका समस्याबारे छलफल गर्ने थलो बन्द छ । कोरोनाबाट मान्छे मरिरहेका छन् । त्यसैले कुरेर बस्न सकिएन । विशेष अधिवेशन बोलाएर छलफल गरौं भनेर निवेदन दिएको हो ।’ उनले कोरोनाको प्रभाव पूरा अर्थतन्त्रमा परेको भन्दै सरकार गम्भीर हुन सुझाए ।
कोभिड–१९ को परीक्षण न्यून र असहज भएको तथा अस्पतालहरुमा पूर्वाधार तथा उपकरणको चरम अभाव भएको गुनासो सांसदहरुले लगाएका छन् । अहिले संक्रमितहरु उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको समाचार दैनिक रुपमा आइरहेका छन् । यसबाहेक संक्रमणको मौका छोपेर प्रदेशमा महँगी अस्वभाविक रुपमा बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका विषय सम्बोधन गर्न सरकार पूर्ण असफल भएको आरोप २ दलले लगाएका छन् । सरकारले समस्या समाधानमा चासो नदिएपछि संसद्बाटै दबाब दिनुपर्ने भएकोले विशेष अधिवेशन मागिएको जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले बताए ।
‘भूकम्पपीडितले घर बनाउन पाएका छैनन् । महँगी बढिरहेको छ । प्रतिपक्षी दलले कहाँ उठाउने यो विषय ?’ उनले प्रश्न गरे । संसद्लाई बन्धक बनाएर सरकार कानमा तेल हालेर बसेकाले विशेष अधिवेशन माग गर्न बाध्य भएको उनको भनाइ थियो । पटक–पटक सरकारलाई समयाबारे ध्यानाकर्षण गराउँदासमेत गम्भीरतापूर्वक नलिएको उनको आरोप छ । ६० सांसद रहेको गण्डकी प्रदेशमा विशेष अधिवेशन माग गर्न कम्तीमा १५ सांसदहको हस्ताक्षर चाहिन्छ । त्यो गणपूरक संख्या कांग्रेस एक्लैसँग छ । तैपनि यो कदममा जनता समाजवादीले साथ दिएको छ ।
प्रतिपक्षमै रहेको ३ सदस्यीय राष्ट्रिय जनमोर्चा भने अहिले विशेष अधिवेशनको आवश्यकता देख्दैन । ‘कांग्रेसको इमानदारिता छैन । माग गर्न सक्ने हुनु भो । एकातिर अड्को थापेर अर्कोतिर स्वार्थ पूरा गर्ने उहाँहरुको चरित्र छ,’ जनमोर्चाका सांसद कृष्ण थापाले भने, ‘केही समयमा अधिवेशन आफै सुरु हुन्छ । तत्काल आवश्यकता पनि छैन । हामी उहाँहरुसँग जान सकेनौं ।’
यता, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले हतारिएर बैठक बोलाउनुपर्ने अवस्था नरहेको बताए । ‘विशेष अधिवेशन जरुरी छैन । नियमित रुपमा सरकारले समयअवधि भित्रै अधिवेशन डाक्छ । हतारिन जरुरत छैन,’ उनले भने ।
‘विधेयक ड्राफ्ट गरिरहेको छ । विधेयक नभई बैठक बोलाएर त काम छैन नि,’ मन्त्री बस्नेत भन्छन्, ‘भन्नेवित्तिकै विशेष अधिवेशन भनेर बोलाउन आवश्यक छैन । के कारण अधिवेशन माग्नु भयो हामीलाई जानकारी छैन ।’
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१