पोखरा । आदर्श समाज दैनिकको सम्पादकमा भरत कोइराला नियुक्त भएका छन् ।
सम्पादक नियुक्त कोइरालालाई बुधबार स्वागत गर्दै पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रिकाले थप उचाइ लिने विश्वास व्यक्त गरे ।
यस्तै, सम्पादक कोइरालाले कुन मिडियामा काम गर्ने भन्ने विषय अस्थायी भए पनि पत्रकारिता पेसा स्थायी हो भने । अहिलेसम्म आफ्नो अनुभवले आदर्श समाजलाई अझ अगाडि बढाउन सक्दो प्रयास गर्ने उनको प्रतिबद्धता छ ।
झण्डै दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला प्राध्यापन पनि गर्छन् । २०५८ सालमा अन्नपूर्ण पोष्टबाट पत्रकारिता थालेका उनी यसअघि दी हिमालयन्स टाइम्स र समाधान दैनिकमा कार्यरत थिए ।
आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर कोइराला जलविद्युत् पत्रकार संघ नेपालका अध्यक्ष कोइराला संसदीय पत्रकार मञ्च गण्डकी उपाध्यक्षसमेत छन् ।
पत्रिकाका प्रबन्ध निर्देशक अमृत बास्तोलाले सम्पादक कोइरालाको आगमनले पाठक र बजारको मागसँगै पत्रिका अघि बढ्ने बताए । उनले लामो इतिहास बोकेको आदर्श समाजको निम्ति कोरोना महामारीले केही समय अप्ठ्यारोमा पारे पनि व्यवस्थापन पक्ष अबका दिनमा अझ परिस्कृत बन्दै जाने बताए ।