मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य

रासस
कार्तिक १९, २०७७
PCR

पोखरा, १९ कात्तिक ।  दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ ।

चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् ।

माछापुच्छ्रे गाउँपालिका वडा ७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्ने निर्णय गरिएको माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिका सचिव कुलप्रसाद अधिकारीले बताए।

उनले भने,  “अन्यत्रका पदयात्रा बन्द भएपछि दशैँपछि मर्दी र माछापुच्छ्रेमा पदयात्री उल्लेख्य बढेका छन्, सङ्क्रमण बढी भएका जिल्लाबाट समेत मानिसहरु आएपछि जोखिम कम गर्न पिसीआर रिपोर्ट अनिवार्य गरेका हौँ ।” विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदयात्रा त्यहाँका व्यवसायीले बन्द गरेपछि मर्दी र माछापुच्छेमा आन्तरिक पर्यटकको भीड बढेको हो ।

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडीले भीडभाड बढेपछि अत्यधिक जनदवाब आएकाले स्थानीयवासी, पदयात्री तथा व्यवसायीलाई सुरक्षित राख्ने प्रयास गरिएको बताए। मर्दी पदयात्रामा धम्पुस, घलेल, सिदिङ, कालिमाटीलगायतका बस्तीहरु पर्ने र स्थानीयवासीले असुरक्षित महसुस गरेपछि पिसीआर अनिवार्य गरिएको उनको भनाइ छ ।

मर्दी हिमाल पदयात्रा पछिल्ला वर्षहरुमा पर्यटकको गन्तव्य बनेको छ । मर्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width