संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी

रासस
कार्तिक ३, २०७७
fewalake

पोखरा, ३ कात्तिक । रामसार सूचीमा सूचीकृत पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको संरक्षणका लागि संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी गरिएको छ ।

दिगो संरक्षण एवं व्यवस्थापनका लागि ताल एवं यसको जलाधार क्षेत्रको एकीकृत विकास र व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्रालयअन्तर्गत बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले संरक्षित क्षेत्र घोषणा गर्ने प्रयोजनका लागि सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया शुरु गरेको हो ।

सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते फेवाताल संरक्षित जलाधार क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश गरेकामा पुनः विसं २०७५ वैशाख १६ गते सरकारका नाममा आदेश जारी गरेको थियो । सरकारले संरक्षित फेवा जलाधार घोषणाको काम अघि बढाउन गत साउन ५ गते विशेष निर्णय गरी फेवाताललार्ई प्रचलित कानूनबमोजिम संरक्षित जलाधार क्षेत्र र वातावरण संरक्षण क्षेत्र कायम गर्न वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिएपछि जिल्लामा त्यसको तयारी शुरु गरिएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा गठित जिल्ला भू–तथा जलाधार संरक्षण समितिले जलाधार क्षेत्रअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीवासीसँग छलफल गरी राय सुझाव लिने तथा सरकारलाई घोषणाका लागि स्थानीयवासीबाट प्रतिबद्धता व्यक्त गराउन शुरु गरेको हो ।

सो समितिले सरोकार भएका सबै पक्षसँग छलफल गरी सरकारलाई संरक्षित फेवा जलाधार क्षेत्र घोषणाका लागि सिफारिस गर्नेछ । फेवा जलाधार क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३, ५, ६, ७, ८, १७, १८, २३ र २४ वडा पर्दछन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं १, २, ३ र ४ नं वडा पर्ने भएकाले त्यस क्षेत्रका जनतासँग सुझाव लिएर सरकारलाई सिफारिस गरिने प्रमुख अधिकारीले बताए ।

फेवातालको ड्यामलाई तालको पानी निकास बिन्दु मान्दा फेवा जलाधारको जम्मा क्षेत्रफल १२३ वर्ग किमी छ । यहाँ बसोेबास गर्ने जनसंख्या एक लाख ३३ हजार ६६४ छ । प्रमुख अधिकारीले जलाधार क्षेत्रबाट वार्षिक एक लाख ४२ हजार मेट्रिकटन ढुङ्गा, माटोलगायतका गेग्रान तालमा मिसिँदा ताल पुरिँदै गएकाले जलाधार क्षेत्रको संरक्षणबाट मात्र ताल जोगिने बताए ।

‘फेवातालको मूल जलाधार क्षेत्र हो, यसको संरक्षणबिना तालको संरक्षण हुँदैन’, उनले भने, ‘समग्र जलाधार क्षेत्रको एकीकृत व्यवस्थापनका लागि सरकारले संरक्षित क्षेत्र घोषणा गरी बृहत् योजना बनाउनेछ ।’ जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले जलाधार क्षेत्रमा आइरहेका समस्या समाधान गरी भूउत्पादकत्व वृद्धि तथा स्थानीयवासीको जीवनस्तर सुधारका लागि संरक्षित क्षेत्र घोषणा गरिने बताए ।

संरक्षणको सोचबिनाको अव्यवस्थित विकास निर्माणका कार्यबाट बाढीपहिरोको प्रकोप बढ्न गई माटो तालमा मिसिँदा फेवातालको क्षेत्रफल घट्दै गएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वको सम्पदा फेवाताल प्राकृतिक र मानवीय कारणबाट तालको निरन्तर क्षयीकरण भइरहेकाले जलाधार संरक्षण नगरी विकास गर्दा तालको आयु घट्ने भएकाले संरक्षित जलाधार घोषणा गर्न लागिएको बताइन्छ ।

संरक्षित जलाधार घोषणापछि जलाधार क्षेत्रको भू–उपयोग योजनातर्जुमा तथा कार्यान्वयन, भू–क्षमताका आधारमा उपयोग नीति तथा भूक्षय, बाढी, पहिरो जस्ता प्रकोपको नियन्त्रणका लागि सडक पाखोको संरक्षणका कार्यक्रम सञ्चालन हुने भएकाले तालको संरक्षण हुने बताइन्छ ।

Related News

सम्बन्धित समाचार

  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…
  • पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा युनाइटेड क्लब आयोजनामा अमरसिंह चौरमा भएको १३ औं पोखरा महोत्सव सोमबारदेखि सकिएको छ । गत २५ पुसदेखि…
  • वडा १५ मा बृहत् खेलकुद समापन

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा वडा १५ मा ४ दिनसम्म चलेको तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । विजयीलाई पोखरा महानगरपालिकाकी…

hero news full width