बालबालिकालाई महानगरको आश्रय

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७
metro

पोखरा । पोखरा महानगरपालिकाले सडकबाट उद्धार गरेर बालगृहमा राखेका बालबालिकालाई झोला, कापी, कलम र स्वीटर सहयोग गरेको छ । बाल दिवस अवसरमा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकालाई सामग्री वितरण गरेकी हुन् ।

लकडाउनपछि अप्ठ्यारोमा परेका बालबालिकालाई पोखराका विभिन्न ठाउँबाट उद्धार गरी अन्नपूर्ण गाउँपालिकाको लेवाडेस्थित चिल्ड्रेन नेपालको बालगृहमा राखिएको थियो । बालगृहमा हाल १८ जना बालबालिका छन् ।

उनीहरुको लागि विगत ६ महिनादेखि सम्पूर्ण खर्च पोखरा महानगरपालिका कार्यालयले गरेको छ भने आवासका लागि भवन चिल्ड्रेन नेपालले उपलब्ध गराएको छ ।

ती बालबालिकामध्ये केहीले पढ्ने इच्छा गरेकाले पढाउने वातावरण मिलाउने तयारीमा महानगर रहेको उपप्रमुख गुरुङले बताइन् । उनले केहीलाई सीप सिकाएर स्वरोजगार बनाई परिवारमा पुनस्र्थापित गराउने पनि छलफल भएको जनाइन् ।

महानगर सामाजिक विकास महाशाखा महिला अधिकृत विष्णुमाया पौडेलले बाल दिवसको अवसरमा अन्य औपचारिक कार्यक्रम गर्ने अवस्था नरहेकाले महानगरले उद्धार गरेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width