संक्रमण अझ बढ्छ : स्वास्थ्य मन्त्रालय

रासस
भाद्र १२, २०७७
MINISTRY-OF-HEALTH

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए ।

उनले संक्रमण वृद्धि भएसँगै थप चुनौतीको सामना गर्नुपर्ने धारणा राखे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढीरहेको उनको भनाइ छ । उनले संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे ।

विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने छन्–प्रवक्ता प्राडा गौतम

प्रवक्ता डा गौतमले संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ ।

बिहीबार एकै दिन १ हजार १ सय ११ जनामा संक्रमण देखिएको छ भने ८ जनाको संक्रमणका कारणले निधन भएको छ । उनले संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे । ‘नेपालमा सबै अङ्ग संक्रमणको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि संक्रमणबाट पीडित भएका छन्,’ उनले भने, ‘यस्तो कठिन घडी संक्रमण रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस् ।’

संक्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए । विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ । कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउनसमेत उनले अनुरोध गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width