निर्माणाधीन अन्नपूर्ण केवलकारको गण्डोला घुम्ने बाटो ।
पोखरा । शीरमा अन्नपूर्ण र माछापुच्छ्रे । फेदमा फेवाताल । तालदेखि हिमालसम्म सर्लक्कै देखिन्छ । धित मर्ने गरी पोखरा सहर हेर्न पाईन्छ । तालबाट चढेर हिमाल अघिल्तिर झर्ने गरी बन्न लागेको केवलकार निर्माणको काम लकडाउनले रोकियो । बैशाखअघि नै बनि सक्ने दाबी गरिएको पोखराको अन्नपूर्ण केवलकारको ५ प्रतिशतमात्रै काम बाँकी छ । ९५ प्रतिशत निर्माण सकिएको केवलकारको काम ५ महिनादेखि थाँति छ । लकडाउनका कारण जापानबाट आउनुपर्ने प्राविधिक टोली नआएका कारण गण्डोला (केवलकारको डब्बा) जडान रोकिएको छ । ‘गण्डोला जोड्ने बित्तिकै चलाउन सकिन्छ । काम करिब अन्तिम चरणमा पुगिसकेको छ,’ केवलकारका कन्सल्टेन्ट संस्था रोप-वे नेपालका अध्यक्ष गुणराज ढकालले भने, ‘५ प्रतिशत काम अड्किएको ५ महिना बितिसक्यो । तोकिएको समयमा काम पूरा गर्न सकिएन ।’ लकडाउन खुल्ने बित्तिकै केही महिनामै केवलकार सञ्चालनमा आउने उनको दाबी छ । ‘अब जनवरी १ बाट चलाउने टार्गेट छ । यदि कुनै अवरोध भएन भने त्यो पूरा हुन्छ,’ उनले भने, ‘जापानीज डिजाइन र सूपरभिजनमा यो केवलकार बनेको हो । लठ्ठा तान्ने र डब्बा राख्ने काम उनीहरु नभै गर्न सकिँदैन ।’
समयमा काम नसकिँदा दैनिक नोक्सानी पनि बढिरहेको छ । ‘सुरक्षा मापदण्ड अपनाएर काम गर्नुपरेको छ । निर्माण समय बढ्यो, त्यसले पनि खर्च थपिन्छ,’ कम्पनीका एक सदस्यले भने, ‘जति लकडाउन बढ्यो उति नोक्सान हुन्छ । अन्तर्राष्ट्रिय उडान छिटो हुने आशा छ ।’ तर दैनिक नोक्सानी भने निकालिएको छैन । फेवाताल किनार सेदीबगरदेखि सराङ्कोट जोड्ने केवलकार २ हजार २ सय ७५ मिटर लामो छ । पोखरा आएका पर्यटकलाई केवलकार नयाँ आकर्षक गन्तव्य बन्ने कम्पनीको दाबी छ । ‘पोखराको गहनाको रुपमा यसलाई विकास गर्दै छौं । पानारोमिक दृष्य देख्न पाइने भएकोले नेपालकै पर्यटकीय उपयुक्त गन्तव्य बन्छ,’ कन्सल्टेन्ट ढकाल भन्छन्, ‘केवलकारले पनि पोखरा आउन पर्यटकलाई आकर्षित गर्छ । यसबाट पोखरालाई पनि फाइदा छ ।’ केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । २१ वटा गण्डोला राख्ने डिजाइन भए पनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान गर्ने र आवश्यकता अनुसार थप्दै लैजाने निर्माण पक्षले जनाएको छ । यसमा ३६ वटासम्म गण्डोला राख्न मिल्छ । यो केवलकार जापानको निप्पन केवलले डिजाइन र सूपरभिजन गरेको हो ।
देशका विभिन्न परिस्थितिका कारण केवलकार निर्माणको लागत पनि बढेको छ । सुरुमा १ अर्ब रुपैयाँमा सक्ने लक्ष्य लिइएको भए पनि पछि खर्च बढेर डेढ अर्ब पुग्यो । जग्गा विवाद र जनशक्ति अभावले पनि केवलकार निर्माणमा ढिलाइ भएको हो । जग्गाको सबै समस्या समाधान भैरहेको कम्पनीले जनाएको छ । केवलकारसँगै रेष्टुरेन्ट, पार्किङ, कफी सप लगायतका संरचना पनि बनाइएको छ । ३० रोपनी क्षेत्रफलमा स्टेसन सहितको संरचना छ भने २५ रोपनी तार र पोलको भागमा पर्छ । परियोजनामा नेपाली व्यवसायीले ७५ प्रतिशत, जापानी नागरिक टाकासी मियाहाराले १५ प्रतिशत र स्थानीयले १० प्रतिशत लगानी गरेका छन् ।
यसबाहेक गण्डकी प्रदेशमा १२ वटा केवलकार निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म सबैभन्दा लामो केलवकार प्रस्ताव गरिएको छ भने सिक्लेसदेखि कोरीसम्म (हिमाल छुने गरी) अर्को महत्वपूर्ण केवलकार निर्माणको प्रस्ताव पनि अघि बढेको छ । बन्दीपुरको केवलकार निर्माणको पनि प्रक्रिया सुरु भएको छ । नेपालमा केवलकारको सुरुवात पनि हालको गण्डकी प्रदेश मनकामनाबाट भएको हो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१