पीएन क्याम्पसमा ताला

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७७
pn

पोखरा । ‘समान कामको समान ज्याला’ माग गर्दै आन्दोलनरत् आंशिक शिक्षकहरुले पृथ्वीनारायण क्याम्पसमा तालाबन्दी गरेका छन् । उनीहरुले आइतबार क्याम्पसको मूलद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । शिक्षकबाटै क्याम्पसमा ताला लगाइएको यो पहिलो घटना भएको दाबी गरिएको छ ।

आफ्नो चरणबद्ध आन्दोलनमा त्रिवि र क्याम्पस प्रशासन गैह्रजिम्मेवार बनेको भन्दै ताला लगाउन बाध्य भएको जिकिर गरेका छन् ।

दैनिक दुई सयभन्दा कम शुल्कमा नियमित पठनपाठन गराइरहेका शिक्षकहरुले गत वर्षको माघ २० मा क्याम्पस प्रशासन, आंशिक शिक्षक र त्रिवि प्रतिनिधिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन थालेका थिए ।
नवनियुक्त क्याम्पस प्रमुख प्राडा सरोज कोइराला आएपछि आंशिक शिक्षकको माग साउन २२ सम्म रिक्त दरबन्दी तत्काल ल्याउने र आंशिक शिक्षकलाई नियमित गर्ने भन्दै दुईबँुदे लिखित प्रतिबद्धता जनाएका थिए । तर माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिनुपरेको आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

यता, क्याम्पस प्रमुख कोइरालाले यो समस्या विश्वविद्यालयकै हो भन्दै समाधान खोजिनुपर्नेमा सकारात्मक रहेको बताउँछन् । समाधानका लागि केन्द्रमा रजिष्ट्रार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए ।
क्याम्पसका हाल २ सय २० आंशिक शिक्षकले क्याम्पसको ७० प्रतिशत कक्षाभार लिने गरेका छन् ।

संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको पनि उनको भनाइ छ । क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width