राखेप उपाध्यक्ष र सदस्य सचिवको शपथ

रासस
श्रावण १४, २०७७
RoS-KTM-Sapathb

काठमाडाैं, १४ साउन । नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार शपथ लिएका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा कोइराला र सिलवाललाई शपथ गराएका हुन् ।

साउन १२ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोइराला र सिलवाललाई नियुक्त गरेको थियो ।

सिलवाल दोस्रोपटक सदस्य सचिव पदमा नियुक्त भएका हुन् । नयाँ खेलकूद विकास ऐन, २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्य सचिवको पदमा पहिलोपटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका थिए ।

उनी गत वर्ष असार २३ गते सदस्य सचिव पदमा पहिलोपटक नियुक्त भएका थिए । नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उनी पदमुक्त भएका थिए ।

सिलवाल पदमुक्त भएको केही सातापछि पुनः दोस्रोपटक सदस्य सचिवमा नियुक्त भएका हुन् ।

राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएको हो । यसअघि राजनीतिक आधारमा नियुक्ति हुने परम्परा थियो । युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

कार्यक्रममा राखेप सदस्य सचिव सिलवालले आफ्नो एकवर्षे कार्यकालमा धेरै कुरा बुझ्ने अवसर पाएको भन्दै खेलकूद क्षेत्रलाई आफ्नो जीवनको महत्वपूर्ण अङ्ग बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै उनले खेलकूदको माहोल बनाउने, खेलकूदलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा पहिचान गर्ने, सुशासन र पारदर्शिता कायम गर्ने बताए ।

त्यसैगरी कोइराला भने राखेपमा पहिलोपटक प्रवेश गरेका हुन् ।
गत वर्ष मङ्सिरमा नेपालमा नै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा कोइरालाले प्रचारप्रसार विभागको संयोजकका रुपमा काम गरेका थिए ।
उपाध्यक्ष कोइरालाले विगत, वर्तमान र भविष्य फरक हुनुपर्छ भने मान्यताका साथ खेलकूद क्षेत्रको विकासमा अगाडि बढ्ने विचार व्यक्त गरे । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्यकाल ४ वर्ष रहनेछ ।रासस

Related News

सम्बन्धित समाचार

hero news full width