होटल मजदूर कर्मचारीलाई सुविधा

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७७
Lakeside Hotels

फाइल तस्बिर

पोखरा । होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो ।

कोभिड–१९ महामारीबाट सिर्जित अवस्था आगामी डिसेम्बर ३१ सम्म रहने आकलन गरी अप्रिल १३ देखि डिसेम्बर ३१ सम्मको अवधिका लागि सम्झौता भएको हानले जनाएको छ । नयाँ सम्झौताअनुसार अब होटलमा कार्यरत मजदूरले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउनेछन् । दुई सय बढी कोठा भएका होटलमा कार्यरत श्रमिक कर्मचारीले मासिक १० हजार पाउनेछन् । त्यस्तै २ सयभन्दा कम कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले ९ हजार पाउनेछन् । त्यस्तै १ सय भन्दाबढी कोठा भएको चारतारे होटलमा कार्यरत मजदूरले ८ हजार ४ सय ५५ पाउनेछन् ।

एकसय भन्दा कम कोठा भएका चारतारे होटलका कर्मचारीले महिनामा ८ हजार पाउनेछन् भने तीनतारे होटल वा सोहीसरहका रिसोर्टका मजदूरले ५ हजार पाउने जनाइएको छ ।

यस्तै दुईतारे होटलले महिनामा प्रतिमजदूर ४ हजार ३ सय तथा एकतारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताका आधारमा सुविधा उपलब्ध हुने भनिएको छ । होटल व्यवसायी र मजदूर सङ्गठनबीच विभिन्न चरणमा बैठक भई ‘बाँचौँ र बचाऔँ’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको हानले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्झौताले दुःखका बेलामा पारिवारिक एकतासमेत प्रदर्शित भएको हानको ठम्याइ छ ।

साथै हानले शुक्रबार नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग