अत्यावश्यकीय सेवा बाहेकका सवारी साधन आवागमनमा रोक

रासस
वैशाख ४, २०७७
BasidevPaudel_Pokhara_RSS_lockdown

पोखरा महानगरपालिका– ३३ स्थित बागमाराको पानी ट्याङ्कीमा आवागमन रोक्दै युवा । सरकारले लकडाउन गरे पनि सर्वसाधारणमा लापरबाही गर्ने क्रम भने नरोकिएको भन्दै अत्यावश्यक सेवा बाहेकका सवारीसाधनलाई आवागमनमा रोक लगाइएको हो । तस्वीरः वासुदेव पौडेल

पोखरा महानगरपालिका वडा नं ३३ स्थित बागमाराका युवा लकडाउनबारे जनचेतना जगाउने अभियानमा जुटेका छन् । बागमारा युवा संगम समूहको नेतृत्वमा सामाजिक दुरी कायम गर्दै कोरोनाको संक्रमण बढ्न नदिन गरिएको लकडाउनबारे जनचेतनामा अग्रसर भएका हुन् । उनीहरुले अत्यावश्यकीय सेवा बाहेकका सवारी साधन आवागमनमा रोक लगाएका छन् ।

कोरोना संक्रमण फैलन नदिन सरकारले लकडाउन अवधि बढाउँदै जाँदा यतिखेर नागरिकस्तरमा नै यसको पालना गर्ने र गराउनेतर्फ सचेतना बढ्दै गएको बागमारा युवा संगम समूहका अध्यक्ष महेश अर्यालले बताउनुभयो । “संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउन पालना गर्नेतर्फ विस्तारै सचेतना बढ्दै त गएको छ, अझै पनि यसको पूर्ण पालना हुन सकेको छैन,” उहाँले भन्नुभयो । लकडाउन आफू र आफ्नो परिवारका लागि हो भन्ने कुरा प्रत्येक व्यक्ति व्यक्तिमा पुग्नु अपरिहार्य भएको बताउँदै उहाँले लापरवाही गर्ने क्रम रोक्नका लागि बाध्यात्मक रुपमा आवागमन बन्द गर्नुपरेको तर्क गर्नुभयो ।

सुरक्षा, औषधोपचार एवम् अन्य अत्यावश्यकीय सेवाका हकमा भने स्वयंसेवक नै राखेर सहजरुपमा आवागमन गर्न दिइने गरेको अर्का युवा सुरेन्द्र पौडेलले बताउनुभयो । “यो बेला आफू बाँच्ने र अरुलाई बचाउने बेला हो, लकडाउनको पालना स्वयं आफ्ना लागि नै हो भन्ने सबैले बुझ्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “संक्रमण भित्रन नदिन सामाजिक रुपमा सचेतना अभिबृद्धि अपरिहार्य छ ।”

बाघमारामा जस्तै पछिल्ला दिन कास्कीका विभिन्न स्थानमा टोल विकास संस्था होस् वा युवा क्लब प्रत्येकले लकडाउन पालनाका लागि नागरिकस्तरमा नै निगरानी बढाएका छन् । जिल्लाको रुपा गाउँपालिकाले त लकडाउन शुरु भएयता गाउँपालिका प्रवेशमा नै रोक लगाएको छ । पालिका भित्रका ९ वटा नाकामा आवतजावत बन्द गराइएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “हामीले गाउँपालिका प्रवेश गर्ने मुख्य नाका बन्द गर्नुका साथै यहाँका प्रत्येक टोल विकास संस्थामा लकडाउनको पालनका लागि स्वयंसेवक समूह बनाएका छौँ,” उहाँले भन्नुभयो, “गाउँपालिकाको प्रयाससँगै नागरिकस्तरमा नै लकडाउनको पूर्ण पालना र निगरानी भइरहेको छ ।”

गाउँपालिका भित्रका १३८ वटा टोल विकास संस्थाका साथै युवा क्लब, आमा समूह सबै यसको पालना र कार्यान्वयनमा क्रियाशील बनेको उहाँले बताउनुभयो । कास्कीकै अन्नपूर्ण गाउँपालिकामा पनि टोल विकास संस्था, आमा समूह एवम् युवा क्लबले लकडाउनको पालनाका साथै यसको कार्यान्वयनका लागि नागरिकस्तरमा पहल गरिरहेको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो ।

गाउँपालिकामा झण्डै २०० को सङ्ख्यामा रहेका टोल विकास संस्थाले आ–आफ्ना टोलमा हालै विदेशबाट व्यक्तिका सम्बन्धमा सम्बन्धित निकायमा सूचना दिने एवम् उसको निगरानीसमेत गरिरहेको उहाँले बताउनुभयो । कोरोना संक्रमण भित्रन नदिन बाहिरबाट आउने मानिसलाई टोल टोलमा प्रवेशमा रोक लगाउने, लकडाउनको पालना गर्ने तथा गराउने कुरामा नगरिकस्तरमा नै काम भैरहेको उहाँले बताउनुभयो ।

(वासुदेव पौडेलकाे रिपाेर्ट)    

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width