वैकल्पिक फुटबल मैदानको काम निरन्तर

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
sssssssssssssssssssssssssssssssssssss

पोखरा,४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि सरकारले आह्वान गरेको लकडाउन (बन्दाबन्दी) का कारणले सबै क्षेत्र ठप्प रहँदा समेत पोखराको एक फुटबल मैदान निर्माणको कार्य निरन्तर सञ्चालन भइरहेको छ ।

सरकारले कोरोनाको प्रभाव न्यूनीकरण गर्न चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेपनि पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालासँगै जोडिएको वैकल्पिक फुटबल मैदान निर्माण कार्य धमाधम भइरहेको हो । निर्माणको अन्तिम चरणमा रहेको देशकै ठूलो फुटबल रङ्गशालाको काम लकडाउनले ठप्प रहेपनि आडैको वैकल्पिक मैदान निर्माण कार्य चलिरहेको हो । दैनिक २०÷२२ जना मजदूर र केही खेलकर्मीले दिनहुँ जसो स्वयमंसेवी भूमिकामा काममा खटिएका छन् । काभ्रे, सिन्धुुली लगायतका जिल्लाका मजदूरहरु अहिले निर्माण कार्यमा आवद्ध छन् ।

राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य राजेश कुमार गुरुङले निर्माण कार्यको नेतृत्व लिएका छन् । सदस्य गुरुङले हालसम्म मैदानको ६० प्रतिशत काम पूरा भएको बताए । उनले भने “कोरोनाको महामारीमा समेत सुरक्षित तरिकाले सामाजिक दूरी कायम राख्दै फुटबल मैदान निर्माणमा छौँ । मैदान समथर बनाएर खेल्न योग्य बनाएका छौं, आगामी १५ दिनभित्रमा मैदानमा दुबो रोप्ने तथा लेबलङिको काम सक्छौँ ।” सो फुटबल रङ्गशालामा ३०० देखी ४०० जना अट्ने गरी प्यारापिट निर्माण गर्ने योजना समेत रहेको गुरुङले जानकारी दिए ।

सो वैकल्पिक फुटबल मैदान निर्माणका लागि युवा तथा खेलकूद मन्त्रालयले चालू आर्थिक वर्षमा रु ९० लाख बजेट विनियोजन गरेको थियो । शुरुआतमा मैदान निर्माणका लागि रु ३० लाख बजेट निकासा आएपछि क्षेत्रीय खेलकूद विकास समितिले कास्की जिल्ला फुटबल सङ्घलाई मैदान निर्माणको जिम्मा दिएकामा निर्माण कार्य अलपत्र परेपछि राखेपको निर्देशनमा क्षेत्रीय खेलकूद तथा जिल्ला खेलकूद समिति लगायतले निर्माण कार्य अघि बढाएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै