पञ्चमूलमा वडा कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
Panchamul

स्याङ्जाको आँधिखोला गाउँपालिकास्थित पञ्चमूलमा नवनिर्मित वडा १ को कार्यालय भवन । तस्वीर :आदर्श समाज ।

रुपनारायण ढकाल : सिरुवारी (स्याङ्जा), २७ मंसिर । स्याङ्जाको आँधिखोला गाउँपालिकास्थित पञ्चमूलमा सोही गाउँपालिकाको वडा १ कार्यालयको विहीबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त भवन उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले संघीयताको फल सबै जनताले चाख्न पाउनुपर्ने मान्यता अनुसार प्रदेश सरकारले आफ्ना काम अगाडि बढाइरहेको भनाइ राखे । स्थानीय तहहरु र प्रदेश सरकारबीच घनिष्ठ सम्बन्ध हुनुपर्ने भन्दै उनले आ–आफ्नो ढंगबाट काम गर्दा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्ने बताए । प्रदेश सरकारले विद्युतीकरण, सिँचाइ, खानेपानी लगायत थुप्रै क्षेत्रमा योजना बनाएर अगाडि बढेको भन्दै उनले यस्ता काममा जनताको पनि साथ हुनुपर्ने भनाइ राखे ।

सो अवसरमा आँधिखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले निकै मेहनत र संघर्षका साथ वडा भवन निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिए । भवन निर्माणमा जनताको योगदानको पनि अध्यक्ष पौडेलले कदर गरे राजनीतिभन्दा माथि उठेर सबै जनतालाई सर्वसुलभ सेवा दिन गाउँपालिका कार्यलय सधैँ तत्पर रहेको भन्दै उनले वडाबाट प्रदान गरिने सेवा समेत छिटो छरितो ढंगबाट प्रदान गरिने प्रतिबद्धता सुनाए । सरकारी सेवाका लागि भवनका आवश्यक कक्षहरु उपयोग गरेसँगै बाँकी रहेका सटरहरु आयआर्जन काममा समेत भाडामा दिने सोच रहेको उनको भनाइ थियो ।

कुल ९१ लाख १९ हजार ३ सय २२ रुपैयाँमा भवन निर्माण गरिएको उनले जानकारी दिए । यो रकममा गाउँपालिका कार्यालयको ८५ हजार रुपैयाँ र जनश्रमदान ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ परेको जनाइएको छ । वडा १ को कार्यालय भवन निर्माण उपभोक्ता समिति अध्यक्ष शिवराम ढकालले गत वर्षको मंसिर अन्त्यमा भवन निर्माण सम्झौता भएकोमा गत असारमा काम सम्पन्न भएको जानकारी दिए ।

यसैबीच, मुख्यमन्त्री गुरुङले आँधिखोला गाउँपालिका– १ बेझाङमा संचालित ब्लु हेवन एग्रो फार्म प्रालिको समेत उद्घाटन गरे । फार्ममा स्थानीय जातका बाख्रा, भैँसी, कुखुरा लगायतका जनावर र चौपायाँ पालन गरिएको छ भने तरकारी र अन्य खेती समेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width