दमौली, २८ जेठ (रासस) तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनःनिर्माण शुरु गरिएको छ । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको एक ढोर राज्यको यो दरबार संरक्षणको अभावमा खण्डहर बन्दै गइरहेकाले पुनःनिर्माणको थालिएको हो ।
ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको यो दरबारको संरक्षण गर्ने सकिए इतिहासबारे बुझ्न खोज्नेहरुका लागि उपयुक्त गन्तव्य बन्ने स्थानीयवासी बताउँछन् । पछिल्लो समय दरबारलाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना देखेर स्थानीयवासी संरक्षणमा जुटेको ढोर मूलकोट संरक्षण एवं पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाँण बताउछन् । उनले भने “शुरुमा दरबारको महत्व बुझिएन । अग्रजहरुले पनि संरक्षण गर्न जानेनन् । दरबारको महत्व बुझेसँगै संरक्षणमा जुटेका छौँ ।” दरबारसँगै कुटी, भैरव मन्दिर, खड्ग कालिका मन्दिर र कोटमन्दिर रहेका छन् ।
खाँणका अनुसार ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको दरबारको पुरानै नक्शामा पुनःनिर्माण थालिएको छ । भत्किएको गा¥होमा पुरानो स्वरुप कायम रहने गरी भक्तपुरका ईंटा प्रयोग गरेर पुनःनिर्माण थालिएको छ । भग्नावशेषमा परिणत भएको दरबारको पुरातत्व विभागको रु बा¥ह लाखको लगानीमा पुनःनिर्माण भइरहेको छ ।
दरबारको संरक्षण र पुनःनिर्माणमा स्थानीय तहले पनि चासो देखाएको छ । शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा दरबारको संरक्षणका लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले ढोर मूलकोट रोयल पार्क निर्माण तथा गुरुयोजना तयार पार्न दुई शीर्षकमा रु ७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । वडा कार्यालयले समेत दरबार संरक्षण गर्न रु चार लाख विनियोजन गरेको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दरबारसम्म पुग्ने कृति रजस्थल मोटरमार्गलाई रु तीस लाख विनियोजन भएको छ । उक्त रकमले मोटरमार्गको सडक स्तरोन्नति गर्ने काम भइरहेको छ । सडक स्तरोन्नति भएपछि दरबारमा पर्यटक पुग्नलाई सहज हुने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष भण्डारी भने – “संरक्षण अभावले भग्न बनेको दरबारको पुनःनिर्माण गरेर नमूना पर्यटकीय स्थल बनाउने लक्ष्य लिएका छौं । सहस्राब्दी मार्ग (मिलेनियम ट्रेक) को रुटमा पर्ने भएकाले दरबारले पर्यटनको प्रचूर सम्भावाना बोकेको छ ।” उहाँका अनुसार दरबारको पुनःनिर्माणसँगै दरबार परिसरलाई तारबार गर्ने, पूर्वाधार थप गर्ने योजना छ ।
उनले – “शुक्लागण्डकीको पहिचानलाई स्थापित गराउन दरबारको भूमिका महत्वपूर्ण छ । नगरले दरबारको गुरुयोजना तयार पार्दैछ भने वडा तहबाट गर्नुपर्ने काममा हामीले कुनै कसर बाँकी राख्दैनौं ।”
ढोर राज्यको अन्तिम राजा सिद्धि खाँण ठकुरी हुन् । गोरखा दरबारका तत्कालीन राजा इन्द्र राज्यलक्ष्मीले कास्कीकोटका राजासँग मिलेर विसं १८३७ ढोर राज्यमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर ढोरका राजा मारिए । राज्य र प्रजा जोगाउन मृत्युसँग पनि नडराई युद्धमा होमिएका राजाको मृत्युपछि ढोर राज्य गोरखा राज्यसँग विलय भएको जानकारहरु बताउँछन् । त्यसपछिको साढे दुई सय वर्षको समयमा दरबारको जीर्णोद्धार हुन सकेन ।
दुई दशक अगाडिसम्म दरबारका थुप्रै संरचनाहरु देख्न सकिने अवस्थामा थिए । ऐतिहासिक वस्तुहरुको संरक्षण नहुँदा कतिपय चोरिए भने भने कतिपय जमीनमुनि पुरिए ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट बा¥ह किलोमिटरको दूरीमा ढोर दरबार अवस्थित छ । समुद्री सतहदेखि एक हजार २७० मिटरको उचाइमा रहेको दरबार परिसर दृश्य अवलोकन गर्ने उपयुक्त स्थान पनि हो ।
मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग मिलेनियम ट्रेकमा पर्ने ऐतिहासिक ढोर दरबारबाट देखिने सूर्योदय र सूर्यास्तले सबैलाई लोभ्याउँछ । अग्लो ठाउँमा रहेको दरबार परिसरबाट शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा देख्न सकिन्छ । यहाँबाट कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, लमजुङ, गोरखा, नवलपरासी लगायतका गण्डकी प्रदेशका अधिकाँश जिल्लाका भू–भागहरु देखिन्छ । ढोर दरबारको नजीकै रजस्थल गाउँ छ । गुरुङ, मगर, ठकुरी, तामाङ र दलित समुदायको मिश्रित बस्ती रहेको यस ठाउँमा विसं २०६० सालसम्म ६५ घर थिए । अहिले ४० घरधुरीको मात्रै यहाँ बसोबास छ । अधिकाँश घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । युवायुवती कोही शहर झरेका छन् त कोही विदेश लागेका छन् ।
विसं २०६० सालमा गाउँमा सडक पुगेपछि गाउँलेहरु शहर झर्न थालेको रजस्थल टोल विकास संस्थाका अध्यक्ष याम बहादुर राना बताउनुहुन्छ । उनले भने – “धेरैजसो छोराछोरीलाई अङ्ग्र्रेजी माध्यमको विद्यालयमा पढाउने बहानामा शहरतिर झरे । कति श्रीमान् विदेश जानासाथ छोराछोरी बोकेर झरे । गाउँमा अहिले बूढापाका र महिलामात्रै छन् ।”
विदेश पसेका र शहर झरेकालाई गाउँ फर्काउने सपना देखेका छन् रजस्थलवासीले । गाउँको शिरानमा रहेको ऐतिहासिक ढोर दरबारलाई पर्यटनसँग जोडेर नमूना गाउँ निर्माण गर्ने
अठोटका साथ लागेका उनीहरुको सपना अझसम्म पनि पूरा भने भएको छैन । ग्रामीण पर्यटनको महत्वपूर्ण आधार मानिने होमस्टे यहाँ सञ्चालन गरिएपनि सोचेजस्तो प्रगति हुन नसकेको रानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाइसे राज्यअन्तर्गतको राज्य ढोर दरबार ओझेलमा पर्दा घरबाससमेत सञ्चालन हुन सकेन ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१