सागका लागि पोखरामै आर्चरी र प्याराग्लाइडिङ प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
SAAG, Player Training_Fotor

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालबाट सहभागी खेलाडीहरुको बुधबारदेखि विशेष प्रशिक्षण संचालन गर्ने भएको छ। उक्त खेलको खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण संचालन गर्ने भएको हो।

विशेष प्रशिक्षणको काठमाडौंमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे। प्रशिक्षण विहीवारदेखि शुरु हुनेछ। प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङ खेलको गरी ८४ खेलाडीहरु सहभागी छन्।

सागमा समावेश विभिन्न २७ खेलमध्ये पहिलो चरणमा ७ खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो। अन्य सम्बन्धित संघबाट नामावली उपलब्ध नभएकाले तत्काललाई ७ खेलको मात्र विशेष प्रशिक्षण शुरु गर्न लागिएको राष्ट्रिय टिम तयारीका निदेर्शक अर्जुन विकले जानकारी गराए। जेठ २० सम्म २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्य–सचिव विष्टले जानकारी दिए।

प्रदेश ५ मा गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शन आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो। चौरासी खेलाडीमध्ये प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडीले पोखरामा रहेर विशेष प्रशिक्षणमा लिनेछन्। बाँकी खेलाडीको प्रशिक्षण काठमाडौंमा हुनेछ। साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदैछ।

सदस्य–सचिव विष्टले शुभकार्यले सुखद परिणाम ल्याउने विश्व व्यक्त गरे। १३ औं सागमा ऐतिहासिक नतिजा ल्याउन प्रशिक्षण शुरु गरिएको उनको भनाइ थियो।

सदस्य–सचिव विष्टले भने, ‘नाम बुझाउन ढिलाई गर्ने संघलाई पाठ होस् भनेरै ७ खेलको मात्र भएपनि पहिलो चरणमा विशेष प्रशिक्षण थालनी गरिएको हो।’

Related News

सम्बन्धित समाचार

hero news full width