परीक्षाका अपराधीलाई कार्वाहीमा शिथिलता

 नगेन्द्रराज पौडेल
वैशाख १७, २०७६

सुरक्षाका सवालमा प्रहरी सबैले आस्था, विश्वास र भरोसा गरेको वर्ग हो। नेपालमा पनि आफ्नो स्थापनाकालदेखि सत्य, सेवा, सुरक्षा प्रहरीको पहिचान झल्काउने पदावलीहरु हुन्। तर त्यही प्रहरी जब त्रूmर बनिदिन्छ समाजबाट आशा, विश्वास र आस्था एक्कासी चकनाचुर हुन पुग्दछ। गत महिना सकिएको एसइईको प्रश्नपत्र चोरी प्रकरणमा प्रदेश २ मा नेपाल प्रहरी फेरि एकपटक बदनाम् हुन पुगेको छ। संगठन भित्रका एकाध खराब पात्रका कारण विगतको विरासत समेत बिर्सने गरी प्रहरी संगठन एकाएक आलोचित हुन पुग्यो।

विगतमा २०७२ सालको भूकम्पमा नेपालप्रहरीले गरेको उद्धार अविस्मरणीय थियो। शान्ति सुरक्षा स्थापनामा पनि प्रहरीप्रति जनता निकै आशावादी भएकै हुन्। मदन भण्डारी काण्ड, दरवार हत्याकाण्ड तथा निर्मला पन्त प्रकरणमा प्रहरीलाई अनुसन्धान गर्न दिने हो भने उसले तुरुन्त सत्यतथ्य बाहिर ल्याउन सक्छ भन्ने आमविश्वास आजपर्यन्त मरेको छैन। यी विषयहरु प्राथमिकतामा नपरेकोले प्रहरीले खुलेर काम गर्न नपाएको हो भनेर जनताले चित्त बुझाएकाछन्।

निर्मलापन्तको प्रकरण सेलाउन नपाउँदै प्रदेश २ को एसइई परीक्षामा प्रश्नपत्र चोरी गरेर फेरि एकपटक नेपालप्रहरी बदनाम भएको छ। प्रदेश २ लाई यसै पनि हरेक कुरामा नकारात्मक दृष्टिबाट हेरिने चलन संस्कार नै बनेको थियो। यसैबीचमा जादूमय शैलीमा परीक्षाको ३ दिनपछि प्रश्नपत्र बाहिरिए। प्रदेश २ का मुख्यमन्त्रीले त प्रदेश सरकारलाई बदनाम गराउन संघीय सरकारले नै प्रश्न पत्र बाहिर्याएको सम्म भन्न भ्याए। अन्ततःउनको दावी गलत सावित भयो। यो प्रकरणले मुलुकका ७७ जिल्लामा १९६९ परीक्षा केन्द्रमा परीक्षा चल्दै गर्दा प्रदेश २ का २६३ केन्द्रका ७ हजारभन्दा बढी विद्यार्थीहरु प्रभावित हुनपुगे।

गत १० चैत्र २०७५ देखि शुरु भएको परीक्षा प्रदेश २ का ८ जिल्लामा पनि शान्त, मर्यादित एवं अनुशासित रुपमा सञ्चालन हुँदै थियो। १४ गतेको अनिवार्य विज्ञानको परीक्षा सकेर घर फर्कदै गर्दा विद्यार्थीको मनमा आशंका र सन्त्रास फैलियो। परीक्षा रद्ध हुने हल्ला चल्यो। प्रदेश २ को सप्तरी जिल्लाको कुनै एक केन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला भयो।

प्रश्नपत्र कहाँ, कसरी र कसले बाहिर ल्यायो भन्ने कुराको एकीन नभए पनि प्रदेश २ का परीक्षा केन्द्रमा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भनी राष्ट्रिय परीक्षा बोर्डले सम्पन्न भैसकेको विज्ञानको परीक्षा रद्ध गरेको थियो। १५ गतेको परीक्षाका प्रश्नपत्रहरु पनि अघिल्लै दिन विभिन्न सामाजिक सञ्जाल मार्फत् देखापरे। परीक्षा बोर्डले बिहान ७ बजे बैठक गरेर उक्त दिनको परीक्षा पनि स्थगन गर्न सर्कुलर गर्यो।

प्रश्नपत्र बाहिरिने क्रम नरोकिएपछि प्रदेश २ का सामाजिक विकास मन्त्रीसमेतको सल्लाहमा अन्ततः संघीय शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले चैत्र १५ गते साँझ पत्रकार सम्मेलन मार्फत् प्रदेश २ का सबै परीक्षा स्थगन गरी चैत्र २२ गते सञ्चालन हुने जानकारी गराउनुपरेको थियो। विद्यार्थीहरुको १० वर्षको पौरख देखाउने बेलामा व्यवधान पैदा भयो। २०६६ सालमा कक्षा १ मा भर्ना भएकाहरु नै त्यति बेला एसइई दिने विद्यार्थीहरु थिए।

प्रहरीविरुद्ध प्रहरी

एसइईको प्रश्नपत्रको सुरक्षाका लागि खटिएका प्रहरी नै प्रश्नपत्र चोरीमा संलग्न रहेको खुलासा नेपाल सरकारले खटाएको केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी ) ले गरेको छ। एउटा प्रहरीले गरेको कुकर्मलाई सजातीय वर्गले बेलैमा पत्ता लगाएर विभिन्न आशंकालाई चिर्न सफलभयो। व्युरोका अनुसार सिरहाको कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलले उक्त चौकीबाट प्रश्नपत्र चोरी गरेको खुलासा भएको हो। यस प्रकरणमा विष्णुदेव सुनरैत, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादवसमेतको संलग्नता पाइएको कुरा सार्वजनिक भइसकेको छ। उनीहरु सबैलाई गत २१ चैत्रमा जिल्लाप्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो। नेपाल प्रहरीको सिआइबीको टोलीले आइटी विशेषज्ञको सहयोगमा सूक्ष्म अनुसन्धान र छानविन गरेपछि अपराधी पक्राउ गर्न सफल भएको थियो। सिरहास्थित इलाकाप्रहरी कार्यालय कल्याणपुरमा प्रश्नपत्र सुरक्षाका लागि खटिएका प्रहरी जवान सुनरैतले चौकीका प्रमुख खानाखान गएको मौका छोपी उनको ब्यागबाट प्रश्नपत्र राखिएको कोठाको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेका थिए। सुनरैतका प्रहरी साथी दीपेन्द्र मण्डल पनि एसईई परीक्षामा सहभागी थिए। सुनरैतले प्रहरी साथीलाई प्रश्नपत्र चोरेर सहयोग गर्ने तथा प्रश्नपत्र बिक्री गरेर लाखौं कमाउने नियतले त्यसो गरेको पाइएको हो। प्रश्नपत्रको सजिलै पहुँचमा रहेका सुनरैतले सिलखोलेर प्रश्नपत्रको फोटो खिच्ने र अर्का परीक्षार्थी प्रहरी साथी मार्फत ‘कुरा’मिलेकाहरुलाई समाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाउने गरेका थिए।

के होला कार्बाही

परीक्षाजस्तो उच्च संवेदनशील विषयमा देखिएको यो आपराधिक मनोवृत्तिलाई निर्मूल गर्न जरुरी छ। यसका लागि प्रश्नपत्र चोरी कार्यमा संलग्न र तिनीहरुलाई उक्त कार्यमा सहयोग पुर्याउनेहरुलाई कडाभन्दाकडा कानूनी कार्बाहीको विकल्प छैन। विगतमा प्रश्नपत्र चोरी वा परीक्षा अगावै प्रश्नपत्र बाहिरिए पनि यसरी परीक्षाको तिथिमिति नै प्रभावित हुनेगरी सुरक्षाकर्मीबाट यसरी प्रश्नपत्र बाहिरिएको संभवतः यो नै पहिलो घटनाहो। यसरी एक विषयको सम्पन्न भईसकेको परीक्षा पुनः सञ्चालन गर्दा र अन्य विषयका परीक्षाको तिथिमिति सार्दा लगभग एक करोडको हाराहारीमा थप आर्थिक व्ययभार पर्नजाने कुरा परीक्षा नियन्त्रक बिष्णुप्रसाद अधिकारी बताउनु हुन्छ। प्रश्नपत्रको फोटो खिचेर प्रहरी साथीलाई दिने र उनको स्थानमा दाजु विष्णुदेवलाई नक्कली परीक्षार्थी बनाएर परीक्षामा सहभागी गराएको स्वीकार गरिसकेका ब्रह्मदेव र दीपेन्द्रलाई प्रहरी ऐन अनुसार विभागीय कार्वाहीका अतिरिक्त अन्य कार्वाही गरिने कुरा प्रहरी नायव महानिरीक्षकले बताए पनि के कार्बाही हुने हो यकिन छैन। शिक्षक यादवका अलावा साँचो सुरक्षित राख्न नसक्ने चौकी इन्चार्ज तथा प्रश्नपत्रको प्याकेट ब्लेडले काटिएर टालेको थाहापाएर पनि कुनै सूचना नगरी परीक्षा लिने केन्द्राध्यक्ष समेत यो मामलामा दोषी छन्। यिनलाई समेत कार्बाहीको दायरामाल्याउन जरुरी छ।

शिक्षाऐन २०२८ (नवौ. संशोधन, २०७४) को दफा १७ (१ क) मा प्रश्नपत्रको गोपनीयता भंग गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्याएमा त्यस्तो व्यक्तिलाई कसूरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ५ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। यो मुद्दा सरकारवादी हुने पनि उल्लेख छ। यस प्रकारको गम्भीर अपराधका लागि कानूनी व्यवस्था निकै फितलो र लचिलो भएको देखिन्छ। यसले गर्दा आगामी दिनमा पनि यस प्रकारका घटनाहरु पुनरावृत्ति नहोलान् भन्न सकिदैन। तसर्थ कानूनूमा संशोधन गरेरै भएपनि यस्ता घटनामा संलग्न हुनेहरुलाई कडाभन्दा कडा कानुनी सजाय तोकिन जरुरी छ।

प्रहरी नियमावली २०७१ को नियम १११ मा “आफूले सम्पादन गर्नुपर्ने कामकार्बाहीमा लापरबाही गरेमा बढीमा ५वर्षसम्म बढुवा रोक्कावा ५ तलब वृद्धिसम्म रोक्का” गर्न सकिने प्रावधान छ। सोही नियमावलीको नियम १२६मा“कुनै प्रहरी कर्मचारीको लापरबाहीको कारणबाट नेपाल सरकारलाई कुनै हानी नोक्सानी हुन गएमा सो हानी नोक्सानी त्यस्तो प्रहरी कर्मचारीबाटै निजको जुनसुकै स्रोतबाट असुलउपर गरिने छ” भनिएको छ। यसै नियमावलीमा टेकेर परीक्षा स्थगन र पुनः परीक्षाका लागेको खर्च चोरी काण्डमा सहभागी हुने प्रहरी तथा आफ्नो चाबी सुरक्षित राख्न नसक्ने चौकी इन्चार्ज र केन्दाध्यक्षबाट असुल गरिनुपर्छ। यस्तो कुरामा सरकारले खुट्टा कमाउनु हुन्न। सोही नियमावलीको नियम ११३ (क) मा “आफ्नो पदीय जिम्मेवारी लापरबाही गरी पूरा नगरेमा प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाकालागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ”भन्ने उल्लेख गरिएको छ। आवश्यकता अनुसार मौजुदा कानूनका यी सबै प्राबधानहरु प्रयोगमा ल्याएर अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउन जरुरी छ। अन्यथा आगामी दिनमा पनि यी प्रवृत्तिहरु नदोहोरिएलान् भन्न सकिँदैन।

Related News

सम्बन्धित समाचार

hero news full width