सुदेश सुन्न खचाखच

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
sudesh_Fotor

‘बस्दैनन् किन मौनधारण गरी गोष्ठीहरु यी सब

तिम्रा हात कहाँ–कहाँ बिकिसके ताली नमार्नु अब’

पोखरा, २६ माघ। खचाखच भरिएको हलमा कविता सुन्न उपस्थित श्रोतालाई ताली नमार्न आग्रह गर्दै उनले आफ्नो कविता वाचन थालनी गरे।

नेपालमा सुस्ताउँदै गरेको छन्द कवितालाई नयाँ आयाम दिएर नवीन मोडमा लैजान निरन्तर लागिपरिरहेका युवा कवि सुदेश सत्याललाई पहिलोपटक पोखरामा उभ्याएको थियो–नेपाली लेखक संघ, कास्कीले। गण्डकी प्रदेशस्तरीय साहित्यिक पुरस्कार स्थापनार्थ संघले नदीपुरस्थित कन्या क्याम्पसको सभाहलमा शनिबार आयोजना गरेको कार्यक्रममा पोखराका साहित्यानुरागीमाझ सत्यालले डेढ दर्जन कविता प्रस्तुत गरे।

प्रेमको विषयलाई कृष्ण र राधिकाको लीलामार्फत् उनले श्रग्विणी धारामा यसरी सुनाए –‘राधिका झैँ फूलबारीहरू, कृष्ण लीला न हुन् बाँसघारीहरू।’

प्रेमलाई यसरी छन्दमा उनेर कविता सुनाएका उनले अहिलेको राजनीतिक कुसंस्कारलाई यसरी झटारो समेत हान्न भ्याए, ‘…हत्यारा जति भेटिने सहर नै त्यो बालुवाटार हो ।’

कवितामा जनजीवन, प्रेम, राजनीतिक अपराधीकरण लगायत आफ्नै देशका कथाव्यथा मात्र उनिएका थिएनन्, सिरियामा भएको द्वन्द्वलाई समेत समेटेका थिए। सिरियाको विषय उठान गर्दै उनले द्वन्द्व र रक्तपात बढिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको औचित्य सकिएको भाव समेत पोखे। कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय महासचिव डा रत्नमणि नेपाल, कास्की अध्यक्ष गणेश शर्मा, उपाध्यक्ष रीतादेवी कँडेल सचिव सञ्जीव पौडेललगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width