पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम तयारी

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५
palpali samaj

पोखरा, १० पुस । यस क्षेत्रको पहिलो सम्पर्क समाज पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ तयारी थालेको छ ।

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले पोखरा सभागृहमा माघ ५ गते हुने सो कार्यक्रमको तयारी थालिएको जानकारी दिए । पाल्पाको मौलिक संस्कृति पर्यटकीय नगरी पोखरामा चिनाउने कार्यक्रमको मूल उद्देश्य रहेको उनले बताए ।

सो अवसरमा पाल्पाली कलाकारद्वारा सांगीतिक कार्यक्रम तथा अग्रजलाई सम्मान हुनेछ । साथै पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिने छ।

कार्यक्रममा पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने छ भने पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक लगायत खानाका परिकारका स्टल समेत रहने छन्।

कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सवोर्च्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, गायक तथा कलाकारहरु नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, नवीन पौडेल, इन्द्र जिसी लगायतलाई सम्मान गरिनेछ।

पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्याएकोमा उनीहरुलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक अनन्त अधिकारीले बताए।

कार्यक्रमबाट बचत रकम पाल्पाली कल्याणकारी कोषमा जम्मा गरिने समाजका संरक्षक एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले बताए। सिटिजन फर्निचर ट्रेड लिंकले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ। लिंकका संचालक दीपक कार्कीले यो कार्यक्रम सम्पूर्ण पाल्पालीको पहिचान भएकोले सहयोग गर्नुपर्ने बताए ।

समाजका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष रेशम रचक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए।

यसैबीच, पाल्पामा पर्यटन प्रवद्र्धनका लागि पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायत जनप्रतिनिधिसँग सोही दिन साँझ छलफलसमेत गरिने समाजले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width