गत वर्षभन्दा कम विद्युत् प्रयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७५
tihar

काठमाडौँ, २४ कात्तिक । यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल १ हजार १ सय ५ मेगावाट विद्युत् प्रयोग गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग गरेको जानकारी दिए।

गत वर्षको लक्ष्मीपूजाको दिनमा १ हजार १ सय ६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए। यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो। नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले यस वर्ष कूल १ हजार २ सय ७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने प्रक्षेपण गरेको थियो। प्राधिकरणले १ हजार ५ सय मेगावाटसम्म विद्युत् माग भए पनि आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरेको थियो। तर त्यसमा औद्योगिक ग्राहकको हिसाब भने जोडिएको छैन। तिहारको समयमा उद्योग तथा प्रतिष्ठान नचलेका कारण पनि ती निकायको गणना गरिएको छैन। प्राधिकरणका देशभर ३५ लाखको हाराहारीमा घरेलु ग्राहक रहेका छन्।

प्राधिकरणले विद्युत् प्रणाली पुगेका कुनै पनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रिड विभागमा २४सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरेको थियो। प्रत्येक वितरण केन्द्र मातहत २५ जनाका दरले विशेष टोली बनाएर परिचालन गरेको हो।

विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँमा विद्युत् भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ। कार्यकारी निर्देशक घिसिङका अनुसार प्राधिकरणको ४ सय ३९ मेगावाट, निजी क्षेत्रको ३ सय ४१ मेगावाट उत्पादन र भारतबाट ३ सय २५ मेगावाट विद्युत् आयात गरिएको र त्यसको सकुशल व्यवस्थापन भएको छ।

उपभोक्ताले सचेत रुपमा नै कम विद्युत् खपत गर्ने उपकरणको प्रयोग तथा विद्युत् प्रयोगमा मितव्ययिता अपनाएका कारण पनि माग कम भएको हो। प्रत्येक वर्ष १० प्रतिशतका दरले घरेलु ग्राहकको सङ्ख्या बढे पनि विद्युत् चोरी नियन्त्रणमा गरेको सार्थक प्रयासले पनि सफलता हात लागेको हो। यस्तै उपभोक्ताको चेतनास्तरमा भएको वृद्धिले पनि आफूहरुलाई विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ। यसैबीच पर्वतको मोदी गाउँपालिकाको भोकलाङमा भने स्थानीयवासीले रुख काट्दा प्रसारण प्रणालीमा अवरोध भएका कारण सो स्थानमा विद्युत् आपूर्ति हुन सकेको थिएन। स्थानीयवासीले असावधानीका कारण रुख काट्दा विद्युत्को तार चुँडिएका कारण सो स्थानमा समस्या देखिएको भए पनि अन्यत्र कुनै पनि समस्या नआएको प्राधिकरणको भनाइ छ।

काठमाडौँको गौरीघाट क्षेत्रमा बाँदर झुण्डिएर प्रसारण लाइनमा केहीबेर समस्या पारेको थियो। सो क्षेत्रको ११ केभीको लाइनमा समस्या आएको थाहा पाउनेबित्तिकै प्राधिकरणको टोलीले मर्मत गरेको थियो। करीब २४ मिनेटमा सो क्षेत्रको विद्युत्समेत नियमित भएको प्राधिकरणको भनाइ छ।

देशभर कुनै पनि स्थानमा विद्युत् अवरोध नभएको र नियमित रुपमा सहज तवरले विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकरणको भनाइ छ। बत्ती, रङ र फूलको पर्वलाई आफूहरुले मेहनतका साथ सफल बनाएको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले आगामी दिनमा समेत यस्तै साथ र सहयोग उपभोक्ताबाट प्राप्त हुने विश्वास व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width