प्रदेशसभाको हिउँदे अधिवेशन सकियो

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७५
parliament

पोखरा, २४ वैशाख । लगातार ३ महिना बैठक बसेपछि प्रदेश ४ को हिउँदे अधिवेशन सकिएको छ । गएको माघ ७ गते ५९ सांसदले शपथ लिएसँगै माघ २२ गतेबाट विधिवत रुपमा अधिवेशन शुरु भएको थियो । निरन्तर ३६ बैठकपछि मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको पत्र सभामुखलाई पठाएका हुन् । सभामुखले पत्र पढेर अधिवेशन अन्त्य भएको घोषणा गरे । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशप्रमुखले अधिवेशन अन्त्य र आहृवान गर्ने प्रावधान छ ।

पहिलो अधिवेशनको अवधिमा प्रदेशसभाले ८ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा नियमावली सहित, जनप्रतिनिधिको तलब सुविधादेखि विनियोजन विधेयक समेत पारित भैसकेको छ । आन्तरिक कार्यविधि अनुसार सभा सञ्चालन गरेको संसदले फागुन २५ गते प्रदेशसभा नियमावली पारित गरेको थियो । प्रदेशसभा नियमावली, आर्थिक कार्यविधि विधेयक, स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिक तथा सेवा सुविधा विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधा विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक र सेवासुविधा सम्बन्धि विधेयक, प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण विधेयक, विनियोजन विधेयक र स्थानीय तहको सभा सञ्चालन विधेयक संसद्बाट पारित गरिएको हो । विनियोजन विधेयक र प्रदेशसभा सदस्यको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरिएको हो भने बाँकी सबै विधेयक बहुमतले पारित भएको छ । विनियोजन विधेयकमा काँग्रेस र नयाँशक्ति विपक्षमा उभिए भने प्रदेशसभा सदस्यहरुको पारिश्रमिक विधेयकमा नयाँशक्ति र जनमोर्चा विपक्षी बन्यो भने काँग्रेसले मौन समर्थन गरेको थियो । नियमावली बनेको छोटो समयमै एक पटक नियमावली संशोधन भैसकेको छ भने दुर्इपटक नियम निलम्बन गरेर विधेयक सदनमा पेश गरिएको थियो । आर्थिक कार्यविधि र विनियोजन विधेयक पेश गर्ने बेला नियम निलम्बन गरिएको थियो । नियमावलीको ३ बुँदा संशोधन भएको छ । विधेयक पेश गर्ने समय, समितिका सदस्य थपघट र जनताका महत्वपूर्ण समस्या राख्ने प्रक्रिया हेरफेर गरिएको हो । यो अवधिमा संसद्का चारवटै समिति गठन भैसकेका छन् । प्रदेशको नामाकरण र प्रदेश राजधानी तोक्नका लागि पनि समिति गठन भएर चरणबद्ध काम गरिरहेको छ । १ महिनाभित्रै समितिले प्रतिबेदन बुझाएपछि नाम र राजधानीको टुंगो लाग्ने संसद् सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशन समग्रमा सफल भएको सांसदले प्रतिक्रिया दिएका छन् । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले केही विषयमा असमझदारी भएपनि साझा एजेण्डामा मतभेद नरहेको बताए । ‘यो हाम्रो नयाँ पाठशाला हो । सबैजना त्यसमा सामेल भएका छौं,’ उनले भने, ‘नयाँ संरचनामा सबै कुरा जिरो ग्राउण्डबाटै थाल्नुपर्दा नयाँ अनुभुति भएको छ । सबैको साझा उद्देश्य विकास र समृद्धि हो, त्यसैले सहकार्यबाटै उद्देश्य हासिल गर्ने कुरामा हाम्रो जोड छ ।’

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश ४ नमूना हिसाबले अघि बढेको प्रतिक्रिया दिए । ‘सत्तापक्ष-प्रतिपक्ष सबैको काम प्रशंसायोग्य छ । केही कुरामा मतभेद भए पनि सहमतिबाटै टुंगिएका छन्,’ उनले भने, ‘आगामी दिनमा सबैले आफ्नो जिम्मेवारी अनुसारको काम गरौं । हाम्रो उद्देश्य पूरा गर्न कठिन छैन ।’ उनले नयाँ व्यवस्थालाई डोहोर्‍याउन केही कठिन लागेपनि विस्तारै सहज बन्ने विश्वास ब्यक्त गरे । राष्ट्रिय जनमोर्चाका कृष्ण थापा नयाँ अभ्यासमा सिक्दै अघि बढ्ने बताउँछन् । ‘प्रदेश संरचना पूरै नयाँ हो । सबैजना सिक्दै छौं,’ उनले भने, ‘आगामी दिनमा आयआर्जन हुने ठोस कार्यक्रम ल्याउनुपर्छ । समृद्धिको बाटो बल्ल शुरु हुन्छ ।’

नयाँशक्तिका हरिशरण आचार्यले सहकार्य खोज्दैमा हिउँदे अधिवेशन सकिएको बताए । ‘पाँच पार्टीका सहकार्य गर्ने आधार तयार भएको छ । तर केही विषयमा मतभेद पनि भयो,’ उनले भने, ‘समग्रमा यो अधिवेशन सत्तापक्षभन्दा प्रतिपक्ष बढी जिम्मेवार भएर अघि बढ्यो । सत्तापक्षले त्यसको मूल्यांकन गरेन ।’ विशेषगरी नामाकरण र लोगो हिउँदे अधिवेशनले नटुंगाएकोप्रति उनको गुनासो छ । अर्को अधिवेशन जेठ दोश्रो सातामात्रै शुरु हुने मौखिक तयारी भएको संसद् सचिवालयले जनाएको छ । तर आवश्यक पर्दा सरकारले प्रदेश प्रमुखसँग आग्रह गरेर अधिवेशन बोलाउन मिल्छ । संविधान अनुसार अधिवेशन नचलेको बेला बैठक बस्नुपरे प्रदेशसभा सदस्यको १ चौंथाईले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले बैठक बोलाउन सक्नेछन्।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width