पीसीसी क्रिकेट कपमा ८ टीम

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
PCC cup (2)

पोखरा, २० माघ। फुटबल रौनक सकिनेबित्तिकै पोखरा रंगशालामा क्रिकेट खेल हेर्न पाइने भएको छ। माघ २३ देखि २७ गतेसम्म अन्तरक्लब दी युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप-२०७४ प्रतियोगिता हुँदैछ।

पोखरा क्रिकेट क्लब (पिसीसी) ले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा कास्की सहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न ८ क्रिकेट क्लबको सहभागिता रहने क्लब अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए।

टी-२० फर्म्याटमा सञ्चालन हुने नकआउट प्रतियोगितामा धौलागिरी क्रिकेट क्लब बाग्लुङ, बौद्ध क्रिकेट क्लब बेनी, खबरा क्रिकेट क्लब म्याग्दी, राइजिङ क्रिकेट एकेडेमी पोखरा, अरण्यज्योति क्रिकेट क्लब पोखरा, सांग्रिला क्रिकेट क्लब पोखरा, पोखरा क्रिकेट एकेडेमी र पोखरा क्रिकेट क्लब सहभागी हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न ३ लाख २५ हजार खर्च हुने आयोजकको अनुमान छ।

२३ वर्षदेखि पोखराको क्रिकेट विकासमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको सो क्लबले हाल ८ देखि १७ वर्ष उमेरका ३० जना बालकलाई पोखरा क्रिकेट एकेडेमीमा प्रशिक्षण दिँदै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए।

विजेताले ४० हजार र उपविजेताले २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ दि टुनामेन्टले ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने वेस्ट बलर, वेस्ट ब्याट्सम्यानलाई जनही ५ हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने क्लबले जनाएको छ।

दी युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहने सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहेको छ।

क्लबले पत्रकार सम्मेलनमै खेलतालिकाका लागि गरेको गोलाप्रथामा समूह एमा पोखरा क्रिकेट क्लब, खबरा क्रिकेट क्लब बेनी, धौलागिरी क्रिकेट क्लब बाग्ालुङ र सांग्रिला क्रिकेट क्लब पोखरा रहेका छन्। समूह बीमा पोखरा क्रिकेट एकेडेमी, अरण्यज्योति क्रिकेट क्लब पोखरा, बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा रहेका छन्। उद्घाटन खेल मंगलबार बिहान ८ बजे आयोजक पीसीसी र खबरा क्रिकेट क्लब बेनीबीच हुनेछ। अर्को खेल बिहान ११ बजेबाट धौलागिरी क्रिकेट क्लब बाग्ालुङ र सांग्रिला क्रिकेट क्लब, पोखराबीच हुनेछ। भोलिपल्ट बुधबार पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच र अको खेलमा बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी प्रतिष्पर्धामा उत्रनेछन्। खेल हेर्न दर्शकलाई पैसा लाग्दैन ।

Related News

सम्बन्धित समाचार

hero news full width