तथ्याङ्कको महत्व र सम्बन्धित निकायको भूमिका

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७३
  • कुनै पनि देशका जनताको समृद्धि त्यो देशको हर क्षेत्रको विकाससँग सम्बन्धित हुन्छ।
  • बिशेषगरी ती क्षेत्र शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र प्रविधि नै हुन्। शिक्षा क्षेत्रको विकाससँगै चेतना र सामाजिक अनुशासन अनि सामूहिकताको भावनाको
  • पनि विकाश हुन्छ। यसले समाजलाई सामूहिक आत्मनिर्भर बनाउन सहयोग गर्दछ।
  • त्यस्तै, स्वास्थ्य क्षेत्रको विकाससँगै मानिसको शारीरिक र मानविक विकास राम्रोसँग हुन्छ। हरेक मानिस स्वस्थ रहन्छन् अनि स्वस्थ चिन्तन र विचारको विकास हुन्छ
  • जसले समाजलाई उन्नत दिशातर्फ दिशानिर्देश गर्न सहयोग गर्दछ। त्यस्तै, भौतिक
  • पूर्वाधारको विकासले जनताले राज्यबाट प्रदान गरिएका सेवा लिन तथा आफ्ना विभिन्न आर्थिक क्रियाकलाप सञ्चालन गर्न सहयोग पुर्‍याउँदछ। प्रविधिको विकासले हरेक कामलाई छिटो, छरितो रुपमा सम्पन्न गर्न तथा समाज तथा देशलाई विश्वका जुनसुकै देश र ठाँउको विकाससँगसँगै अघि बढाउन सहयोग गर्दछ।

यी सबै क्षेत्रको विकासको मूल आधार नै सही तथ्याङ्क हो। जबसम्म सही तथ्याङ्क आउँदैन  र सोही आधारमा विकास निर्माणका कार्य गरिँदैन त्यो पूर्णत अवैज्ञानिक एवं अव्यवहारिक हुन्छ। त्यसले एकातिर जनताका समस्याको समाधान गर्दैन भने अकोर्तिर राज्यको लगानी अनुत्पादक क्षेत्रमा बढ्न गई ढुकुटी रित्तिदै जान्छ। आर्थिक बृद्धिदर खस्किदै जान्छ र राज्य आर्थिक तथा प्रशासनिक रुपमै टाट पल्टने सम्भावना बलियो हुन्छ।

तथ्याङ्क केका लागि ?

जुनसुकै ठाउँमा जस्तोसुकै खाले काम व्यवस्थित तरिकाले गर्नका लागी तत्तत् क्षेत्रको सूचना बोकेका तथ्याङ्कहरू आवश्यक पर्दछन्। मुख्यत तथ्याङ्क निम्न लिखित कुराको जानाकारी प्राप्त गर्नका लागि आवश्यक हुन्छ।

  • विभीन्न ठाउँ र तह अनुसारको जनसंख्या थाहा पाउन।
  • जाति, भाषा वर्ग तथा लिंग अनुसारको सामाजिक बनौट एवं संरचना तथा तिनीको समस्या पहिचान गर्न।
  • समाज र ठाउँ अनुसारको आवश्यकता पहिचान गर्न।
  • बिभिन्न खाले आवश्यकताको प्राथमिकीकरण गर्न।
  • भैपरी आउने प्राकृतिक प्रकोपको अवस्था तथा क्षतिको वास्तविक तथ्याङ्क बुझ्न।
  • समस्याहरूको पहिचान गर्न तथा समाधानका उपाय पत्ता लगाउन।
  • बिभिन्न खाले उद्योग, धन्दा र तिनीहरूले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान पत्ता लगाउन।
  • रोजगार, बेरोजगार र अर्धबेरोजगारको संख्या र अबस्था पत्ता लगाउन।
  • कुल ग्राहस्थ उत्पादनमा बिभिन्न क्षेत्रको योगदान पत्ता लगाउन।
  • विकास, निर्माणका लागि उपर्युक्त योजनाको छनौट गर्न।
  • जनताका हरेक समस्याको समाधान गर्ने उपर्युक्त नीति निर्माण गर्न, आदि।

कस्तो तथ्याङ्क महत्वपूर्ण हुन्छ ?

त्यस्तो तथ्याङ्क जुन जनता वा सम्बन्धित निकायको माझबाट लिइएको हुन्छ, जसले जनताको वा सम्बन्धित निकायको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्दछ र वास्तविक समस्या पहिचान गर्दछ। त्योमात्रै महत्वपूर्ण हुन्छ। सामान्यतया कुनै पनि महत्वपूर्ण तथ्याङ्कमा निम्न लिखित गुण हुनुपर्दछ।

  • पूर्ण प्रतिनिधित्व
  • वास्तविकता
  • यथार्थ
  • वैज्ञानिक प्रणाली अबलम्वन
  • निश्पक्ष
  • स्वतन्त्र
  • स्पष्ट समय सिमा
  • किटान गरिएको ठाँउ वा क्षेत्र

यसर्थ सही तथ्याङ्कले मात्र सही दिशानिर्देश गर्न सक्दछ र त्यस्तो सही तथ्याङ्कमात्र महत्वपूर्ण हुन्छ।

 

नेपालमा तथ्याङ्कको इतिहास र महत्व

परापूर्वकालमा शासकले जनताबाट कर उठाउन र फौजमा भर्ती गर्ने प्रयोजनका लागि जनतागणना गरिन्थ्यो भन्ने कुरा इतिहासले पुष्टि गर्दछ। विस्तारै तथ्याङ्कको महत्व बढेर गएको देखिन्छ। विस १९६८ मा पहिलो पटक जनगणना सुरु भयो अनि केही भौतिक पूर्वाधार निर्माणका लागि आधार तयार भयो। यसमा पनि तथ्याङ्कको महत्व झल्किन्छ। सुरुका केही गणना कर र फौज निर्माणका लागि बढी प्रयोग भएको पाइन्छ भने पछिल्लो पटक जनसरोकारका हरेक पक्षलाई समेट्दै यसको प्रयोजन बहुआयायिक हुँदै आएको छ। विस्तारै वि.सं २०१३ बाट योजनाबद्ध विकासको सुरुवात हुन लाग्यो अनि कहाँ कुन योजना अत्यावश्यक छ, कुन ठाउँको सामाजिक तथा आर्थिक अवस्था कस्तो छ, त्यो ठाउँमा के समस्या छ, कस्तो खालको विकास अत्याबश्यक छ, सोका लागि कति रकम आवश्यक पर्छलगायतका विषयसँगै तथ्याङ्कको महत्व जोडिएर आयो।

विस २०१८ मा कृषिगणना र २०२२ मा औद्योगीक गणनाको पहिलो पटक सुरुवात भयो। उक्त गणनाबाट कृषिसम्बन्धी र उद्योगधन्दा, यी क्षेत्रले सृजना गरेको रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा सम्ब्ान्धित क्षेत्रको योगदानसम्बन्धी तथ्याङ्क निस्किन थाल्यो। त्यही आधारमा केही योजना बन्न सरु भयो। त्यस्तैगरी, २०५२ मा पहिलो पटक जीवनस्तर सर्वेक्षण गरी गरिबीको तथ्याङ्क निकालियो। साथसाथै श्रमशक्ति सर्वेक्षण, साना तथा मझौला उद्योग सर्भेक्षण, तरकारी उत्पादन सर्भेक्षण, मत्स्य सर्भेक्षणलगायतका  सर्भेक्षण सम्पन्न भए। हाल आएर माथिका गणना तथा सर्भेक्षणका श्रृंखला साथसाथै बहुसुचक सर्भेक्षण, औद्योगिक उत्पादन र सोसँग सम्बन्धित मूल्य तथ्याङ्क, निर्माण सामाग्रीको मूल्य सङ्कलन, राष्ट्रिय लेखासम्बन्धी तथ्याङ्क, घरपरिवार सर्भेक्षण, कुखुरा फार्म सर्भेक्षण, मोटरसाइकल तथा मोटरगाडी मर्मत केन्द्र सर्भेक्षण, सहरी जनसंख्यालगायत अन्य सर्भेक्षण सञ्चालन भइराखेका छन् भने केही नयाँ सर्भेक्षण जस्तै हावापानी परिवर्तनसम्बन्धी पनि सञ्चालन हुने तयारीमा रहेका छन्। यसरी तथ्याङ्कको आवश्यकतासँगै तथ्याङ्कको महत्व जोडिएर आउँछ र नै तथ्याङ्क उत्पादन पनि परिष्कृत एवं बहुआयामिक बन्दै गएको छ।

तथ्याङ्कीय क्रियाकलापमा राज्यको भूमिका

कुनै पनि राज्यको भौतिक, आर्थिक तथा सामाजिक विकासको मुख्य मेरुदण्ड नै तथ्याङ्क हो। सही तथ्याङ्क बिना कुनै पनि खाले विकास, निर्माणका काम सही रुपमा सञ्चालन हुन सक्दैनन्। तसर्थ कुनै पनि विकासपे्रमी राज्य वा सरकारको पहिलो प्राथमिकता मा तथ्याङ्क क्षेत्र र त्यहाँ सञ्चालन हुने तथ्याङ्कीय क्रियाकलाप हुनुपर्दछ। तथ्याङ्कीय क्षेत्रको विकासका लागी राज्यले गर्नुपर्ने मुख्य कार्य यसप्रकार छन् :

  • तथ्याङ्कलाई करको एउटा क्षेत्रको रुपमा सिकास गर्नु
  • तथ्याङ्कीय सचेतना बढाउनु
  • तथ्याङ्क क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्नु
  • आबश्यक जनशक्ति व्यवस्था गर्नु
  • तथ्याङ्क उत्पादन तथा प्रशोधनका लागि वैज्ञानिक प्रविधिको अबलम्बन सुनिश्चित गराउने
  • कर्मचारीको क्षमता अभिवृद्धि गर्ने खालका तामिम सञ्चालन गर्ने
  • पूर्णतः तथ्याङ्कको आधारमा राज्यको नीति निर्माण तथा विकास, निर्माणका योजना तर्जुमा गर्नु आदि।

तथ्याङ्कीय क्रियाकलापमा सर्वसाधारणको भूमिका

हरेक तह र तप्काका जनता एवं व्यवसायीलाई समग्र जनताको आर्थिक एवं सामाजिक अवस्थाको तस्विर प्रस्तुत गर्ने माध्यम नै तथ्याङ्क हो। पारिवारीक जीवनका लागि समाज अध्ययन गर्न, लगानीको क्षेत्र चिन्न, तथा व्यवसायीक क्षेत्रमा के आबश्यक छ, कुन व्यवसायको कस्तो भविष्य छ, कुन वस्तु तथा सेवाको राम्रो बजार छ, माग र आपूर्तिको अवस्था के छ, कुन व्यवसायबाट धेरै मुनाफा आर्जन गर्न सकिन्छ जस्ता यावत कुरा सही तथ्याङ्कबाट सजिलै बुझ्न सकिन्छ। त्यतिमात्र होइन कुन व्यवसाय कुन दिशातर्फ उन्मुख भइरहेको छ, त्यसको विगत के थियो, वर्तमान के छ र भविष्य के होला जस्ता कुरा पनि सही तथ्याङ्कबाट र्छलङ्ग हुन्छ। तसर्थ सही तथ्याङ्क उत्पादनका लागि आम सर्वसाधारण तथा व्यवसायीले सहयोगी भूमिका खेल्नुपर्दछ जसका लागि जनता एवं व्यवसायीले गर्नुपर्ने कार्य निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ।

  • आधिकारीक तथ्याङ्क सङ्कलनकर्ता व्यक्ति तथा संस्थालाई सही तथ्याङ्कको सहज उपलब्ध गराउनुपर्ने।
  • आफ्नो व्यवसायीक संगठन वा संस्थालाई तथ्याङ्क उत्पादन गर्नेसम्बन्धमा सहयोगी भूमिका निर्वाह गर्नका लागि अपिल गर्ने।
  • उत्पादित तथ्याङ्कको बढीभन्दा बढी प्रयोग गर्ने बानी बसाल्ने।
  • उत्पादित तथ्याङ्कको अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सल्लाह, सुझाव दिने।
  • व्यवसायिक कार्यक्रम गर्नका लागि तथ्याङ्कीय निकायसँग आवश्यक सल्लाह, सुझाव लिने आदि।

तथ्याङ्कीय क्रियाकलापमा पत्रकार तथा बौद्धिक वर्गको भूमिका

समाज र देशको तथ्याङ्कीय आवश्यकता उजागर गर्न मुख्यतः पत्रकार एवं बुद्धिजीवी वर्गको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। हरेक सत्य, तथ्य कुराको प्रचारप्रसार गरेर आम जनतामाझ पुर्‍याउन र सर्वसाधारण जनतालाई तथ्याङ्कको आवश्यकता, महत्व र प्रयोगबारे जानाकारी गराउनका लागि पत्रकार एवं बौद्धिक वर्गको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। यसरी पत्रकार तथा बौद्धिक वर्गको भूमिकालाई निम्न बुँदाद्वारा प्रष्ट पार्न सकिन्छ।

  • तथ्याङ्कको आवश्यकतासम्बन्धी आम सर्वसाधारण जनतासँग छलफल गर्ने।
  • तथ्याङ्कको महत्वबारे तथ्याङ्कीय सचेतना कायम गर्ने/गराउने।
  • विभिन्न समयमा हुने सर्भे एवं गणनाको प्रचारप्रसार एवं सोसम्बन्धी छलफल चलाउने।
  • सम्बन्धित निकायलाई समय, समयमा विभिन्न सल्लाह, सुझाव प्रदान गर्ने, आदि।

सम्पूर्ण तथ्याङ्कीय क्रियाकलापको मेरुदण्डको रुपमा केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धत निकाय रहनुपर्दछ। आफ्ना उत्पादनलाई व्यवस्थित रुपमा प्रशोधन गरी नीति निर्माता, राजनीतिज्ञ, उद्योगी, व्यवसायी, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी एवं आम जनतामाझमा पुर्‍याउनु नै केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धित निकायको प्रमुख काम हो। यसरी केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धत निकायको कामलाई निम्न बुँदाद्वारा प्रस्ट पार्न सकिन्छ।

  • सम्बन्धित व्यक्ति वा व्यवसायीलाई भेटी तथा कार्यालयमा गई आवश्यक तथ्याङ्क सङ्कलन गर्नु।
  • सङ्कलित तथ्याङ्क सामूहिक रुपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग हुन्छ र गर्नुपर्छ भन्न्ो भावनाको विकास गर्नु।
  • उत्पादीत तथ्याङ्कलाई अन्तर्राष्ट्रि्रय वैज्ञानिक पद्दद्धि अनुसार प्रशोधन गरी आवश्यक रिपोर्ट, पुस्तकहरू तयार गर्नु।
  • यार गरिएका रिपोर्ट तथा पुस्तक सबैको पहुँचमा पुर्‍याउनु।
  • नीति निर्माता, अध्ययनकर्ता, विशेषज्ञ, शिक्षक, विद्यार्थी, सर्वसाधारण जनता, व्यवसायी आदिको सल्लाह, सुझावमा तत्कालीन आवश्यक रहेको तथ्याङ्कको बिषयबारे जानाकारी लिई सोही अनुसार कार्यक्रम निर्माण गर्ने।
  • राष्ट्रि्रय योजना आयोग एवं सम्बन्धित निकायलाई विभिन्न योजना निर्माण गर्नका लागि आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउने आदि।

अन्त्यमा, कुनै पनि देशको विकास त्यो देशको तथ्याङ्कीय प्रणाली र तथ्याङ्कप्रतिको आम मानिसको दृष्टिकोण एवं बुझाइ, समग्रमा तथ्याङ्कीय सचेतनासँग सिधै सम्बन्धित भएको हुन्छ। जुन देशका जनताले सही तथ्याङ्क सहज तरिकाले राज्यले मागेका बेलामा दिन हिच्किचाउन्नन्, त्यो देशका जनताको समृद्धि त्यहीँबाट सुरु हुन्छ। जब नीति निर्माताले नीति निर्माण गर्नका लागि गलत तथ्याङ्कको सहारा लिन पुग्छन् अनि ठीक त्यहीँबाट राज्यले गलत, अपुरो तथा भेदभावसहितको नीति तथा कार्यक्रम अबलम्बन गर्दछ र त्यहाँका जनताको समृद्धि र हरेक खाले विकासका आयाम त्यहीँबाट खोसिन्छन्।

तसर्थ राज्यले पनि तथ्याङ्कको महत्वलाई बुझी यो क्षेत्रका समस्यालाई हल गर्दैतथ्याङ्क सामूहिक रुपमा तथ्याङ्कीय प्रयोजनका लागिमात्र प्रयोग गर्नुपर्छ। तथ्याङ्कीय सचेतना बढाउने कार्यक्रम ल्याउनुपर्दछ भने आम जनता तथा व्यवसायीले पनि राज्यले मागेको सही तथ्याङ्क सहज रुपले उपलब्ध गराउनुपर्दछ। साथै, केन्द्रीय तथ्याङ्क विभाग, तथ्याङ्क कार्यालय तथा सम्बन्धित निकायले पनि आम जनता, उद्योगी, व्यापारी, शिक्षक, बिद्यार्थी सबैका लागि आवश्यक पर्ने तथ्याङ्क उत्पादन तथा प्रशोधन गरी सम्बन्धित सबै निकायको पहुँचमा पुर्‍याउनु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width