‘शीतलादेवी गण्डकीको उत्कृष्ट विद्यालय’

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
sitaladevis

पोखरा । पोखरा १२ स्थित शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय भएको औंल्याइएको छ । विद्यालयको ५९ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोहका वक्ताले सो कुरा औंल्याएका हुन् ।

कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यले समग्र गण्डकी प्रदेशकै गर्व लायक विद्यालयमा शीलतादेवी पर्ने उल्लेख गर्दै अरु विद्यालयले शीतलादेवीका गतिविधिको अनुसरण गर्नुपर्ने औँल्याए । उनले माटेपानी प्राविको विकसित रुप हालको शीलतादेवी भएको स्मरण गर्दै विद्यालयले शैक्षिक जगतमा अनुकरणीय फड्को मारेको स्पष्ट पारे ।

राजनीतिक गतिविधि कम हुँदा विद्यालयले फड्को मार्ने जनाउँदै निमित्त महानिर्देशक आचार्यले संस्कारयुक्त शिक्षामा जोड दिए । बालबालिकाको प्रतिभा चिन्न अभिभावकलाई तथा बालसुलभ ढंगले पठनपाठन गराउन शिक्षकलाई उनले आग्रह गरे । राष्ट्रमा जस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छवि निर्माणमा ध्यान दिन विद्यालयलाई उनले सुझाव दिए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले शीतलादेवी राष्ट्र तथा समग्र गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय रहेको दाबी गर्दै हालसम्म स्थापित गरिमा र प्रतिष्ठालाई जोगाइराख्नु चुनौतीपूर्ण रहेको औंल्याए । बच्चालाई अभावमा पनि जिउन सिकाउनुपर्ने भन्दै प्रमुख आचार्यले अबको शिक्षक प्रविधिमैत्री हुनुपर्ने स्पष्ट पारे ।

वडाध्यक्ष सन्तोष बास्तोलाले विगतको तुलनामा विद्यालयको अवस्था तीव्र गतिमा सुधार हुँदै गइरहेको धारणा राख्दै शिक्षामा राजनीति हुनुहुँदैन भन्ने मान्यताअनुसार आफूले कार्य गर्दै आइरहेको जनाए । व्यावहारिक भन्दा घोकन्ते शिक्षाकै कारण देश पछाडि परेको उनको ठहर छ ।

कार्यक्रममा विद्यालय सदस्य किरण केसी, शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्रप्रसाद आचार्य, विद्यार्थी कृतिका नागिला लगायतले पनि धारणा राखेका थिए ।

कार्यक्रमबीच प्रधानाध्यापक बाबुराम अधिकारी, अक्षयकोषदाता भद्रकुमारी बस्याल, शिक्षकहरू निरा थापा, आशीष थापा क्षत्री, उपेन्द्रराज पोखरेल, रामचन्द्र पहारी र कर्ना गुरुङ सम्मानित भए ।

विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक अधिकारीले विज्ञान तथा सामाजिक प्रयोगशालालाई थप व्यवस्थित गर्ने लक्ष्य रहेको सुनाए । उनले यसै वर्षभित्र विद्यालयमा स्वास्थ्य इकाइ, चमेना गृह, हल तथा मन्टेसरी कक्षा व्यवस्थापन गरिने स्पष्ट पारे ।

समारोहमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार साथै विभिन्न छात्रवृत्ति वितरण गरियो । त्यस्तै विद्यार्थी एवं शिक्षकहरूले विभिन्न प्रस्तुति राखे ।

विद्यालयका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ अधिकारीले स्वागत तथा शिक्षक बोधराज गौतमले संञलन गरे ।

नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल कुल १ हजार २ सय २३ विद्यार्थी छन् । विद्यालयमा १० जोड २ तर्फ विज्ञान र व्यवस्थापन विषयको पठनपाठन हुने गर्दछ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width