यस्तै हुन्छ भन्ने थाहा पाएका भए त बढुवा किन हुनु परेको थियो र? बढुवाको सूचना आएदेखि यति सपना बुनिएन । उसको भन्दा मेरै योग्यता बढी छ । उसलेभन्दा बढी सेवा मैले नै गरेको छु । सबैभन्दा अगाडि मै छु । कति वर्षदेखि बढुवा नपाएकाहरू उम्मेदवार बन्न पाएका छन् । जताबाट जे गणना गरे पनि सबैभन्दा अब्बल आफैंलाई पाएको थिएँ । संघमा पो धेरै छन्, पालो नआउला । यहाँ प्रदेशमा त मै हुँ पहिलो । जसले पनि यही सोचेका थिए । जसले यस्तो सोचेका थिए, नाम निस्केर पनि बढुवा खान कसैले मुद्दा मामिला झेल्नुपरेको थियो । जसोतसो मुद्दा जिते पनि पदस्थापनमा समस्या खेप्नु परेको थियो । बढुवा हुन कसैलाई १२/१५ वर्ष कुर्नु परेको थियो भने कसैले ५/७ वर्षमै बढुवाको अवसर पाएका थिए । कसैलाई लोकसेवा आयोगको सूचना आउन नपाउँदै बढुवा भइने सुनिश्चित थियो ।
उम्मेदवारी दिने ३५ दिने सूचना जारी भयो । बढुवा समितिले बढुवाको सिफारिस गरेर ३५ दिने उजुरबाजुर समय दियो । दुवै जोड्दा ७० दिन त्यसै गयो । त्यसपछि १५ दिन आन्तरिक गृहकार्य गर्न के अभ्यास गरे । १५ दिने अन्तरमा ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनको सिफारिस गर्दा ज्येष्ठतापछि कार्यक्षमताको पनि ३५ दिने म्याद कट्यो । सबैलाई सँगसँगै पदस्थापन गरियो ।
आफ्नाआफ्नालाई राम्रोराम्रो ठाउँ चाहियो । सुनिश्चित भएको रिक्त ठाउँ उनैलाई चाहियो । गण्डकी प्रदेश निजामती सेवा ऐनअनुसार बढुवा भइयो तर बढुवा नियुक्ति गरेर पदस्थापन गर्दा वरियता क्रमानुसार रोजेर जान पाइने ऐनको प्रावधान भए पनि त्यसैमा टेकेर पदस्थापन गरेको व्यवहारमा अनुभव गर्न पाइएन । वरियताको क्रमभंग गरेर पदस्थापन गरियो ।
कसैलाई पदै दर्ता नभएको, नयाँ दरबन्दी सिर्जना गरिएको ठाउँमा, कसैलाई कामकाजमा खटिएका कर्मचारी नभएको ठाउँमा, कसैलाई पद रिक्त भए पनि कामकाजमा खटिएका कर्मचारी कार्यरत रहेको ठाउँमा खटाइयो । मलाई कामकाजमा खटिएका कर्मचारी कार्यरत रहेको ठाउँमा खटाइयो । त्यस्तो ठाउँमा जाने कुरो भएन । गइएन । प्रशासनका २ वटा दरबन्दी भनेर पठाइएकोमा १ कटौती भएछ, १ काजमा कार्यरत रहेछन् । हुन्छ, हुन्छ त्यसलाई सच्याइन्छ भनेपछि बसियो । एक दिन हुन्न, दुई दिन हुन्न । तेस्रो दिन पनि हुन्न । दिनका दिन धर्ना बसे झैं बसिएको छ, हुन्न । ‘हुन्न’ भन्दैनन् फेरि । हल हल भनेका छन् । हल्लाएका छन् ।
अर्का त उहाँ बढुवा हुनेबित्तिकै पदस्थापन हुन्छन्, माथिल्लो पदको जिम्मेवारी पाउँछन् । मान सम्मान बढ्छ । यहाँ त भएको पनि घटेको छ । आफ्नो काम हुन्छ कि भनेर आफू समान पदको कर्मचारीको कुर्चीको अगाडि धुमधुमती बसिएको छ । उसले आफूलाई सोधपुछ गर्ने त कुरै छाडौं, हेर्न पनि कुन्नि के जाति पर्ला झैं गरेको छ । कतै हेरे पनि छड्के आँखाले देखिहाल्छ कि झैं हेरेको छ । त्यहाँ आउने जाने अरुअरुका भटाभट काम गरिएको छ । उसलाई भ्याइनभ्याइ छ । ताउरमाउर छ । एकै छिन, भन्छ, यता जान्छ । एकै छिन, भन्छ, उता जान्छ । फेरि एकै छिन, भन्छ, कता जान्छ । कत्ति फुर्सद छैन ।
कोही पदस्थापन भए पनि डेराडण्डाको समस्याले बरु घटुवा गरी दिनुपर्यो भन्न थालेका छन् । पत्रै बुझेका छैनन्
मेरै कामका लागि होला भनेर मख्ख भएर बस्यो । मेरो काम हुँदैन, अर्काको काम हुन्छ । मभन्दा पछि आउनेहरूको काम फटाफट हुन्छ । म मात्र बाँकी भएपछि भएभरका सुख समृद्धि मानव कल्याणका सिद्धान्त छाटिन्छन् । ‘सरकार क्षणिक सुख बाँड्छ। जनता त्यसैमा रमाउँछन् । केही क्षणमा बिलाउँछ । अनि दुख पोख्छ र पानीको फोकाजस्तो सपना बाँड्छ । कर्मचारी निरीह प्राणी हुन्। कर्मचारी हुनुभन्दा एउटा चिया पसलेको इज्जत छ । जसले पनि उसलाई सम्मान गर्छ । उसको शान, शौकात छुट्टै छ । कर्मचारी, विचरा दिनभरि कजिएकै छ । जस पाइने कतैबाट होइन । जस पाइने ठाउँ भए पनि त्यो अरू कसैले लिन्छ । अपजस आफूले पाइन्छ । सानो ठाउँमा, सानो कुरा पनि देखिन्छ । ठूलो ठाउँमा, ठूलै कुरा पनि बिलाउँछ । हेर्नु, हामी, यहींको यहीं, कुहिराको काग झैं हराइरहेका छौं । कोही जाँच दिन गएका छन् । कोही आमा बिरामी भएर अस्पताल गएका छन् । सबैलाई मौका दिनुपर्यो । आमालाई औषधी गर्न गएकालाई अरू केही जान्दिनँ, तिमी मलाई यहीं चाहिन्छ भन्नेले भन्थे । मेरो विवेकले त्यसो भन्न सक्दैन । मान्छेले समय परिस्थिति बुझ्न सक्नुपर्छ ।’ यति मात्रै कहाँ प्रदेशमा बसेर प्रदेशकै बदख्वाइँ गरिरहेका छन् । ‘प्रदेश खत्तम छ । हेर्नु प्रदेशको दरबन्दी । संघले स्वीकृत गरेको दरबन्दी घटाएको छ ।
आफूले थपेको छ । किताबखानामा स्वीकृत छैन । लथालिंग छ । भताभुंग छ । कर्मचारी स्थायी सरकार होइन ? कर्मचारीको हालत यस्तो छ । सरकार कसरी चल्छ? यस्तै ताल हो भने प्रदेश जान बेर छैन । दुई तहको संघीयता भए हुन्छ । प्रदेश खारेज गरे हुन्छ, कसरी चल्छ? कसरी साध्य हुन्छ? कसरी टिक्छ?’ महिना दिन भयो । बढुवा भएको बुढाको जोश जाँगर देखिन्न । घरमा बूढीलाई तनाव छ । ‘आज नभए भोलि हुन्छ । भोलि नभए पर्सि हुन्छ । मलाईभन्दा बढी तिमीलाई चिन्ता किन?’ प्रश्नमाथि प्रश्न पसारेर बुढीलाई चुप बनाए पनि यता आफ्नो मनमा आँधीबेहरी चलेको छ । पिरलोमाथि पिरलो थपिएको छ । नम्बर १ मा बढुवा हुनु र पत्र बुझेर पनि हाजिर हुन नजानु मेरो गल्ती हो र? काममकाजमा आएकाहरू फिर्ता जान मान्दैनन् । उनीहरूको पनि आफ्नै समस्या होलान् । त्यसरी कामकाजमा आएकाहरूलाई नचलाउनु भनेर मन्त्रीज्यूको आदेश हुन्छ । त्यहाँ पनि आफ्नै किसिमको समस्या होला? राम्रो ठाउँ, रिक्त ठाउँ र पद दर्ता भएको सुरक्षित ठाउँ अरूलाई चाहियो होला । त्यो पनि आफ्नै ठाउँमा होला । अरू केही उपाय नपाएपछि मैले पनि बुढियालाई झपारेँ । ‘केही नपाएर तिमीले पनि मेरै टाउको खानुपर्यो?’
बुढीलाई झपारेर समस्या समाधान हुने होइन । म फेरि आफैंभित्र हराएँ । सोंच मग्न भएँ । यस्तैयस्तै बेथितिका लागि संघीयता ल्याइएको हो र? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएपछि समायोजनमा प्रदेश रोजियो । संघीय निजामती सेवा ऐन आजसम्म पनि आउन सकेन । कर्मचारीका लागि सबैभन्दा मिठो मिठाइँ भनेकै बढुवा होलाजस्तो लाग्छ । तर त्यही मनको लड्डुभन्दा मिठो मिठाइँ कसैलाई तितो, टर्राे, अमिलो साबित भएको छ । कोही बढुवा भए पनि पदस्थापन भएका छैनन् । कोही पदस्थापन भए पनि डेराडण्डाको समस्याले बरु घटुवा गरी दिनुपर्यो भन्न थालेका छन् । कसैलाई निजामती किताबखानाले नचिनेको पदै दर्ता नभएको कार्यालयमा दरबन्दी सिर्जना गरेर पदस्थापन गर्दा हाजिर हुन जान मानेका छैनन् । पत्रै बुझेका छैनन् । बढुवा, बढुवाजस्तो छैन । बढुवा भएको पद निजामती किताबखानाले चिन्दैन । बढुवा भएको भन्दा तल्लो पदको पेन्सन पट्टा बनाइन्छ । जिन्दगी लगाएर पकाएको जागिर धरापमा परेको छ । सेवा ग¥यो, सेवा गरे जस्तो छैन । कर्मचारी भन्नासाथै कसैको ब्रह्माण्ड तात्छ । कर्मचारीले लाउनखान हुन्न । कतै एक्लोदुक्लो हिँड्न हुन्न । कर्मचारीको पीडा यस्तो छ । के सधैं यस्तै रहला त ?
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१