जलवायु परिवर्तनको लडाइँको नेतृत्व नेपालले गर्नुपर्छः मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०८०
cm pande

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको असरमा विश्वले गम्भीरताका साथ ध्यान नदिएको बताएका छन् ।

काठमाडौंमा भएको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा उनले विश्वको ध्यान नेपालमा तान्न नेपालले नै नेतृत्व गर्नुपर्ने बताए । ‘जलवायु परिवर्तनको सजायँ हामीले भोगिरहेका छौं । त्यसैले यसको अधिकार हामीले स्थापित गर्न सक्नुपर्छ । विकसित राष्ट्रहरू अनकनाइरहेका छन् । यो वातावरणीय परिवर्तनका महासन्धि र सन्धिहरूमा बाध्य पारिनुपर्छ,’ उनले भने, ‘यो एउटा लडाइँ हो, यसको नेतृत्व हामीले गर्नुपर्छ । अधिकार प्राप्तिको लडाइँको नेतृत्व नेपालले गर्नुपर्छ ।’

पाण्डेले अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित राष्ट्रले सहयोग गर्ने वाचामात्रै गर्ने तर कार्यान्वयन नगर्ने समस्याको अब अन्त्य हुनुपर्ने बताए । ‘बोल्नेमात्रै होइन, हामी सहयोग गर्छौं भन्छन् । तर रकमहरू जम्मा भएका छैनन् । सम्मेलनमा भन्ने तर रकम जम्मा नहुने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले भने । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको प्रावधानअनुसार जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रमहरू तर्जुमा तथा कार्यान्वयन गरिरहेको छ । तर पर्याप्त भएको छैन ।

जलवायु परिवर्तनका नाममा आउने रकमलाई सही ठाउँमा उपयोग गर्नुपर्नेमा पाण्डेले सुझाए । ‘जलवायु परिवर्तनको नाममा हामीकहाँ पनि धेरै खर्च भइरहेको छ । धेरै डोनरहरूको खर्च हामीले गरेका छौं । तर त्यो खर्च अब कतापट्टि लैजाने भनेर सोच्नुपर्छ,’ अघि भन्छन्, ‘मलाई लाग्छ, अहिलेसम्म सफ्टवेयरमा धेरै खर्च भयो, अब हार्डवेयरमा पनि खर्च गर्नुपर्छ ।’ उनले धनी राष्ट्रसँगै नेपालकै विकासे मोडलका कारण पनि जलवायु परिवर्तनको असर बढेको बताए । ‘हामीले पनि विकासको मोडेल पनि चेन्ज गर्नुपर्छ । अहिले जसरी हामी अगाडि बढेका छौं, यसबाट प्राकृतिक विपत्ति बढेको छ । बाटो बनाउँदा भूमि धेरै खसेको छ । यसले प्राकृतिक विपत्ति निम्त्याएको छ,’ उनी भन्छन्, ‘अब हाम्रो प्रणाली चेन्ज गर्नुपर्छ । जलवायु परिवर्तन अनुकूलन कार्यक्रम थप्नुपर्छ । सकेसम्म भू–क्षय नहुने गरी सडक र संरचना बनाउनुपर्छ ।’

जलवायु परिवर्तनको असर नेपाल र खासगरी गण्डकी प्रदेशले बढी भोगिरहेको छ । गत साउनमा कागबेनीमा ठूलो बाढी आयो । २०७८ सालमा मनाङमा बस्ती नै बगाउने गरी बाढी चल्यो । प्रदेशभरि ७ सयभन्दा बढी घर पहिरोका कारण स्थानान्तरण गर्नुपर्ने अवस्था छ । हिमालका हिउँ छिटो पग्लिने र अनौठा किराहरू देखिन थालेका छन् । यही अवस्थाबारे बुझ्न अघिल्लो महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कास्कीको अन्नपूर्ण बेसक्याम्प भ्रमण गरे । स्थानीयले भोगेका समस्याबारे जानकारी लिए । उनले दुबईमा हुने कोप २८ मा नेपालले व्यहोरिरहेको असरबारे वक्तब्य दिने बताएका छन् । जलवायु परिवर्तनका कारण हिमाली जीवनशैलीमा नै परिवर्तन आएको छ । यसले हिमालय क्षेत्रहरू विस्तारै संकटोन्मुख भइरहेका विज्ञहरू बताउँछन् । खासगरी तापक्रममा आएको बदलाव नेपालका लागि प्रमुख चुनौती हो ।

Related News

सम्बन्धित समाचार

hero news full width