आज श्रीकृष्ण जन्माष्टमी

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८०
Krishna Janmastami

पोखरा । भाद्र कृष्णअष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यस दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा यस दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‍याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसंग महाभारत ग्रन्थमा उल्लेख छ ।

श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवं वासुदेवलाई जेलमुक्त गरिदिएका थिए ।

बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ । आजको दिन देशका विभिन्न ठाउँका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

यसैबीच, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका गण्डकी प्रदेशवासी एवं सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।

एक सन्देशमार्फत उनले ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्मोत्सवको दिन मनाइने यो पर्वले सम्पूणमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले भगवान् श्रीकृष्णको जन्म द्वापरयुुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात अर्थात् आजकै दिन भएकोले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाइ मोहरात्रीको रुपमा मनाइँदै आएको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width