मेयर कपको उपाधि वडा नम्बर २ लाई

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८०
mayor cup (1)

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा सञ्चालित तेस्रो बेसीसहर मेयर कप सम्पन्न भएको छ । बेसीशहर नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगितामा वडा नम्बर २ पहिलो र वडा नम्बर १० दोस्रो भए ।

प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १० लाई २ ले १ गोलले पराजित गर्‍यो । उपाधि सहित वडा नम्बर २ ले नगद १ लाख रुपैयाँ, सिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै, उपविजेता वडा नम्बर १० ले नगद ५० हजार, मेडल र प्रमाणपत्र पायो ।

प्रतियोगितामा वडा नम्बर २ का सर्वाधिक गोलकर्ता र फाइनल खेलका ‘म्यान अफ दि म्याच’ वडा नम्बर २ का सुदिप सुनारले हात पार्न सफल भए । उनले खेल अवधि भर ४ गोल गरे । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीको उपाधि वडा नम्बर १० का खेलाडी रवि गुरुङले जितेका छन् । उनीहरू दुवैलाई जनही ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए ।

विजेता टिम तथा खेलाडीलाई बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, उपमेयर पद्मा गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन गुरुङ लगायतले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बेसीसहर नगरपालिकाका मेयर अर्यालले खेल क्षेत्रको विकासका लागि नगरपालिका सँधै लागि पर्ने र पर्याप्त बजेट बिनियोजन गर्ने बताए । मेयर अर्यालले वडाहरुले पनि खेलकुद क्षेत्रका लागि बजेट विनियोजित गर्नुपर्नेमा जोड दिए ।

तेस्रो मेयर कप फुटबल प्रतियोगिता जेठ १६ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा बेसीसहर नगरपालिकाभित्र रहेको ११ वटै वडाका टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width