घरभाडा आधा घटाउन घरधनीलाई सिटी रेबान पोखराको अपिल

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८०
Deepak Timilsina PIC

पोखरा । पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले विहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् ।

आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएका छन्,उनले भने,‘त्यसैले व्यवसायी बचाउनका लागि घरभाडा आधा घटाऔं । यसो ग¥यौं भनेमात्र व्यवसायी बचाउन सकिन्छ ।’ उनले घरभाडा नघटाउने हो भने व्यवसायीहरुले व्यवसाय छाड्नुपर्ने स्थिति आउने चेतावनी दिए । व्यवसायी बचे न घरधनीले घरभाडा पाउने हो,उनले भने,‘नत्र घरभाडा तिर्नै नसक्ने भएपछि घर छाडेर पलायन हुनुको विकल्प छैन ।’

अध्यक्ष तिमिल्सिनाले पोखरा महानगर क्षेत्रका रेष्टुरेण्ट तथा बारहरुको अवस्था नाजुक रहेको बताए । कतिपय बैंकको ब्याजदर र किस्ता तिर्न नसकेर त कतिपय घरभाडा तिर्न नसकेर व्यवसायी पलायन हुन थालेको उनको दाबी छ । उनका अनुसार हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेका छन् । झण्डै त्यति नै संख्यामा पलायन हुने स्थितिमा छन् । घरभाडा नघटाउने हो भने जेनतेन धानिएका ती रेष्टुरेण्ट तथा बारहरु असार मसान्तसम्ममा बन्द हुने स्थितिमा पुग्ने उनको चेतावनी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width