पोखरा पेन्सन क्याम्पमा गणतन्त्र दिवस

आदर्श समाज सम्वाददाता
माघ १२, २०७९
Republic Day (2)

पोखरा ।  भारतीय पेन्सन वितरण कार्यालय पोखरामा विहीबार भारतको ७४ औं गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।

सो अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि पश्चिम पृतना विजयपुरका पृतनापति उपरथि दीपककुमार बानियाले विभिन्न व्यक्तित्वहरुलाई पेन्सन वितरण कार्यालय पोखराका तर्फबाट शिक्षा सहायता रकम वितरण गरेका थिए । भारतीय सेनामा कार्यरत रहँदा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा वीरगति प्राप्त गरेका सहीदका परिवार तथा घाइते वीर गोर्खा भूतपूर्वहरुलाई भारत सरकारले उच्च प्राथमिकतामा राखी विभिन्न सहयोग प्रदान गर्दै आएको छ ।
शिक्षा सहायता प्राप्त गर्नेहरुमा कल्पना कार्की, सुमित्रा थापा, दीपमाया गुरुङसेनी, निरमाया थापा, दुर्गाबहादुर गुरुङ, शिवनारायण श्रेष्ठ, रामबहादुर थापा र रनबहादुर पुन रहेका छन् । सहायत रकम ६६ हजार ६ सय ६८ रुपैयाँदेखि ३ लाख ३० हजार ९ सय ३९ रुपैयाँसम्म छ । यसैगरी उपरथि बानियाले पेन्सन वितरण कार्यालय पोखराका ईश्वर पुनलाई सन् २०२२ को उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित पनि गरे । सो अवसरमा भारतीय राजदूतावास कल्याणकारी शाखाबाट प्रत्येक वर्ष प्रकाशन गरिँदै आएको पत्रिका भूपू २०२२ को पनि उनले विमोचन गरे ।

समारोहमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै पृतनापति बानियाले नेपाल र भारतविच इतिहासदेखि गहिरो सांस्कृतिक, अध्यात्मिक र उत्कृष्ट दुई पक्षीय मित्रवत् सम्बन्ध रही आएको स्मरण गराए । इतिहास, संस्कृति, धर्म, परम्परा, सहकार्य, पारस्परिक सम्बन्ध र नागरिक नागरिकबीचको अटुट सम्बन्ध नेपाल र भारतबीचका उदाहरणीय पक्ष भएको उनले बताए । भारतीय सेना र नेपाली सेनाबीचको घनिष्ट सम्वन्धको इतिहास पनि निकै लामो रहेको उनले बताए । दुई सेनाबीच तालिम लगायत विभिन्न क्षेत्रमा सहयोग र सहकार्य हुँदै आएको उल्लेख गर्दै उनले विनासकारी भूकम्प र कोभिड १९ को महामारी बखत भारत सरकारका तर्फबाट नेपाल र नेपाली जनताका लागि गरिएको सहयोगकोे सम्झना गरे ।

भारतीय सेनामा वीरगति प्राप्त गरेका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी सुरु भएको समारोहमा पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलबाट भारतको राष्ट्रिय ध्वजा ध्वजारोहण गरिएको थियो । बघेल कार्यालयमा केही दिन अघिमात्र कार्यभार सम्हाल्न आइपुगेका नवआगन्तुक प्रमुख हुन् । कार्यक्रमका अवसरमा नेपाल भारत मैत्री विद्यालयका विद्यार्थीले भारत र नेपालको राष्ट्रिय गान प्रस्तुत तथा मार्च पास पनि गरेका थिए । अन्त्यमा विद्यार्थीबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width