वीरेठाँटीमा तेक्वान्दो प्रशिक्षण

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
birethanti

हेमजा । अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी माविमा तेक्वान्दो तालिम सुरु गरिएको छ । विश्व तेक्वान्दो संघको सहयोगमा १ वर्षसम्म हुने तालिममा विद्यालयका कुल १ सय ३ विद्यार्थी सहभागी छन् ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले मानव जीवनमा खेलको महत्वपूर्ण भूमिका रहने औंल्याए । उनले स्वास्थ्यका लागि पनि खेल अपरिहार्य रहेको भन्दै खेललाई प्राथमिकतामा राख्न विद्यालयलाई सुझाव दिए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा विद्यालयका सल्लाहकार देवेन्द्रकुमार शेरचनले खेलसँगै विद्यार्थी अनुशासित बन्नुपर्नेमा जोड दिए ।

विश्व तेक्वान्दो संघका अध्यक्ष डा.चोङवन् चुई, एसियन तेक्वान्दो युनियनका अध्यक्ष प्राध्यापक क्यु सिओक लि, पर्वतारोही क्या.अम्हङ गिल, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा लगायतले बोलेका थिए । प्रदेशस्थित तेक्वान्दो संघले सहजीकरण गर्ने उक्त तालिमको उद्घाटन सत्रका बीच विद्यालयलाई खेल तथा शैक्षिक सामग्री पनि प्रदान गरियो ।

तालिमका सहभागी विद्यार्थीलाई १ वर्षका लागि निशुल्क पोसाक तथा खाजाको व्यवस्थासमेत मिलाइएको प्रधानाध्यापक प्रेमबहादुर थापाले जानकारी दिए । विद्यालय समयपछि तालिम दिने व्यवस्था गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र गौचनको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं सल्लाहकार देवेन्द्रकुमार शेरचनले स्वागत तथा अम हम गिल हुमन फाउन्डेसनका प्रोग्राम म्याजेजर नीलम थापाले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width