ज्येष्ठ नागरिकका समस्याबारे चर्चा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
Jestha Nagarik by rupnarayanss

पोखरा । पोखरा–९, शान्तिवनमा केन्द्रीय कार्यालय रहेको ज्येष्ठ नागरिक सरोकार समाज नेपालले आफ्नो १० औं स्थापना दिवस अवसरमा शुक्रबार १०२ वर्षीय ज्येष्ठ नागरिक पण्डित बाबुरम रेग्मीलाई सम्मान गरेको छ ।

सराङकोटमा जन्मिएर हाल पोखरा–१७ मा बसोबास गर्दै आएका रेग्मीको शिक्षासेवी एवं समाजसेवीरुपमा योगदान छ । उनलाई समाजका अध्यक्ष, सल्लाहकार एवं कार्यक्रमका विशिष्ट अतिथिले खादा, माला, अविर र सम्मानपत्रसहित अभिनन्दन गरेका थिए ।

कार्यक्रममा प्राडा दिलबहादुर क्षत्रीले माता, पिता र गुरु देवतासमान भए पनि वृद्धाश्रममा लगेर छाड्ने र मरेपछि सम्पत्तिका लागि शव दाबी गर्ने विकृति देखिनेक्रम बढेको बताए । सम्मानित पं रेग्मीको जीवनी र अनुभव अभिलेखीकरण गर्न सुझाव राख्दै प्राडा क्षत्रीले रेग्मीजस्ता लामो आयु जिउन सफल व्यक्तित्वको नजिक बस्दा मोक्ष प्राप्त भएको अनुभव आफूले गरेको बताए ।

अर्का प्राडा ज्ञानबहादुर कार्कीले समाजमा ज्येष्ठ नागरिक अपहेलित रहेको स्मरण गराउँदै राज्यले पनि उनीहरुप्रति गर्नुपर्ने दायित्व पूरा नगरेको बताए । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आए पनि त्यसमा उल्लेख सम्पूर्ण सुविधा ज्येष्ठ नागरिकले सहज ढंगले प्राप्त गर्न नसकेको उनले सुनाए । ज्येष्ठ नागरिकका लागि स्वास्थ्यको कुरा ठूलो भएको भन्दै उनले अस्पतालहरु महँगो भएको र ज्येष्ठ नागरिकले पाउने ४ हजार रुपैयाँ भत्ता अपर्याप्त रहेको बताए ।

सनातन धर्म सेवा समिति अध्यक्ष रवीन्द्र माकाजूले मानिसले आफू बूढो हुनु पर्छ र मर्नुपर्छ भन्ने कुरा ख्याल नगर्नु अहिलेको ठूलो समस्या भएको बताए । मान्छेले एकअर्कालाई मान्छेको व्यवहार नगर्दा देवताको खोजी गर्नुपरेको भनाइ उनको थियो । पछिल्लोक्रममा धर्म र संस्कृतिमाथि चौतर्फी प्रहार भएको बताउँदै उनले यसका लागि ज्येष्ठ नागरिक सरोकार समाज जस्ता संस्थासँग सहकार्य गर्न आफ्नो संस्था तयार रहेको बताए ।

शान्तिघाट विकास समिति अध्यक्ष शिवबहादुर कार्कीले शान्तिघाटमा डेढ वर्ष संचालनमा आएर केहीको विरोधका कारण रोकिएको शवदाह गर्ने मेसिन यही असोज ९ देखि संचालनमा ल्याउन पहल अगाडि बढाइएको जानकारी दिए ।

यसका लागि सबैको सहयोगको अपेक्षा गर्दै उनले कतिपयले माग गरेबमोजिम २० फिट अग्लो चिम्नी बनाएर संचालन ल्याउन लागिए पनि यसको विरोध हुनु दुखद भएको उनले सुनाए । चार गुणा कम दाउरा र समय लाग्ने उक्त मेसिन सुचारु भएपछि शवदाह कार्य सहज हुने उनले बताए ।

सम्मानित व्यक्तित्व रेग्मीका माइला सुपुत्र एवं छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीले जीवनमा ठूलो दुख र कठिनाइका साथ आफ्ना पिता शिक्षा सेवामा लागेको स्मरण गर्दै उनी समाजका लागि अनुकरणीय व्यक्तित्व भएको बताए ।

समाजको पुरञ्चौर शाखा अध्यक्ष पद्मा गौतम (राधा) ले ज्येष्ठ नागरिकको नजिक बसेर उनीहरुको हालखबर र स्वास्थ्य अवस्थाबारे सोध्नाले पनि धेरै राहत मिल्ने बताइन् ।

समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक सदस्य खिमप्रसाद ओझालाई पनि सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार हरि बास्तोला, विशिष्ट अक्षकोषदाता रामप्रसाद बतास, समाजकी सदस्य पार्वता पौडेल, साहित्यकार विष्णु अल्पविराम लगायतले भनाइ राखेका थिए । कार्यक्रम संचालन समाजका महासचिव विष्णुप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width