पोखरामा मनाइयो विश्व आदिवासी दिवस

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७९
Kaura

पोखरा । २८ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मंगलबार नेपालसहित विश्वभर विविध कार्यक्रम मनाइएको छ । पर्यटकीय नगरी पोखरामा पनि नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह–आयोजनामा विविध कार्यक्रमसहित दिवस मनाइएको हो ।

बिहान झाँकीसहित आयोजित र्‍याली चिप्लेढुंगा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर सभामा परिणत भएको थियो । र्‍यालीमा गण्डकी प्रदेशका आदिवासी समुदायले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै झाँकी तथा र्‍याली प्रस्तुत गरेका थिए । र्‍यालीमा साकेला, सोरठी, घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति पनि देखाइएको थियो । भक्तपुरदेखि आएको नेवार समुदायले पहिलो पटक यहाँ घिन्ताङ घिसी नाच प्रस्तुत गरेको थियो ।

यसैबीच, दिवस अवसरमा तमु धिं नेपालले एसइई उत्तीर्ण तमु विद्यार्थीलाई सम्मानसहित ‘तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा’ विषयक अनुशिक्षण कार्यक्रम गरेको छ । समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले तमुहरुले अब देशकै प्रशासनमा पुग्ने र विश्वजगत्मा बिक्ने शिक्षामा जोड दिनुपर्नेमा जोड दिए । शैक्षिक प्राप्त गरिसकेपछि प्रमाणपत्र बाकसमा राखी खाडी र मलेसिया दौडनुपर्ने शिक्षा नभई नेपालमै शासन प्रशासन, नीति योजना निर्माण गर्ने, नयाँ क्षेत्रलाई सम्बोधन गर्ने र विश्वमा माग भएका शिक्षामा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

दिवसमा आदिवासी समुदायले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै झाँकी तथा र्‍याली प्रस्तुत गरे

अबको शिक्षा विज्ञान, प्रविधि, इन्जिनियरिङसँग सम्बन्धित आइटी, इन्टरप्रेनरसिप, टुरिजम एन्ड मेनेजमेन्ट, माइन्स इन्जिनियरिङ, टनेल इन्जिनियरिङ, माउन्टेन एग्रिकल्चर, मेडिकल साइन्स, कानुन, जर्नालिजम लगायत विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । विद्यार्थीको रोजाइ, अभिभावकको आवश्यक सहयोग र उचित नियन्त्रण पछिल्ला दिन महत्वपूर्ण हुने प्राडा गुरुङले बताए । तमु धिंले जस्तै अन्य संघसंस्थाले पनि अनुशिक्षण, प्रशिक्षण कार्यक्रम नियमितरुपमा अघि बढाउन उनको आग्रह थियो । तमु धिं नेपालमा आयोजित कार्यक्रमको अध्यक्षता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले गरेका थिए ।

सन् १९८२ डिसेम्बरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीट्रल्यान्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । गएको २ वर्षसम्म कोरोना भाइरसका कारण दिवसमा औपचारिक कार्यक्रम हुन पाएको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width