शिव पुराणमा लक्ष्यभन्दा बढी आर्थिक संकलन

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
Shiva Puran

लेखनाथ । पोखरा २६ सक्नेरीमा सञ्चालित शिवपुराण ज्ञान महायज्ञले लक्ष्यअनुसारको सफलता हात पर्दै सकिएको छ । गत साउन १४ गतेदेखि सुरु भएको महायज्ञ सुरुमा २२ गतसम्म सञ्चालन गर्ने निर्णय गरे पनि पछि १ दिन थप गरिएको हो । महायज्ञ समापनको दिन सोमबार र एकादशीसमेत परेकाले भक्तजनहरुको बाक्लो उपस्थितिमा समापन गरिएको हो ।

११ दिनसम्म चलेको महायज्ञको समापनसम्म आइपुग्दा ७१ लाख २९ हजार ४ सय ३६ रुपैयाँ संकलन भएको छ । सुरुमा आयोजकहरुले आन्तरिक रुपमा करिब ६० लाख संकलन हुने अनुमान गरे पनि समापनसम्म आइपुग्दा लक्ष्यभन्दा बढीको सफलता हात पार्दै महायज्ञ सकिएको आयोजक संस्थाका संयोजक जगन्नाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।

समापन समारोहमा पोखराका मेयर धनराज आचार्यले धर्मले मानिसलाई अनुशासित र स्वच्छ बनाउने भएकाले बाचुञ्जेलसम्मको जीवनलाई सहज र सामाजिक क्षेत्रमा लगाउनुपर्ने सुझाव राखेका थिए ।

उनले धार्मिक कार्यले समाजमा सकारात्मक सन्देश दिने र मानवीय सभ्यता एवं संस्कृतिको रक्षा गर्दै भावी पुस्तालाई लोक संस्कृतिबारे जानकारी गराउनु नै यस महायज्ञको मुख्य उद्देश्य रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले पोखरा २६ का अध्यक्ष रामचन्द्र तिमिल्सेना, नेपाली कांग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाट, ब्रह्मकुमारी टीका लगायतले सबैको साथ र सहयोगले महायज्ञले लक्ष्यभन्दा बढीको सफलता हात पारेको बताएका थिए ।

आयोजक समितिका संयोजक जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसंयोजक सरस्वती गौतम र कार्यक्रम सञ्चालन महासचिव तारा शर्मा ढकालले गरेकी थिइन् ।

शिव पुराण ज्ञान महायज्ञको समापनको दिन सोमबार मात्र ५ लाख ७९ हजार संकलन भएको छ महायज्ञमा बोलकबोल नभई सबै रकम नगद नै उठेको आयोजक संस्थाका महासचिव तारा शर्मा ढकाल बताए ।

शिवपुराण ज्ञान महायज्ञमा दिग्दर्शन वाचन शिरोमणि दीपक सापकोटा र युवा प. रामप्रसाद सिग्देलबाट दैनिक रुपमा संगीतमय प्रवचन हुँदै आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width