पोखरा घोषणापत्रसहित मेयर सम्मेलन सकियो

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७९
296678072_151167837512834_4095901224735219615_n

पोखरा १४, साउन । पोखरामा आयोजित दुईदिने ‘मेट्रो मेयर मिट’ पोखरा घोषणापत्र जारी गर्दै सकिएको छ । देशका ६ महानगरका मेयर, उपमेयर सहभागी सम्मेलनमा महानगर सञ्चालनका अड्चन र समाधानका उपायबारे छलफल भएको पोखरामा मेयर धनराज आचार्यले बताए ।

उनका अनुसार मेयर उपमेयरबीच अनुभव आदानप्रदानसँगै संघीयतापछि स्थानीय सरकारले खेल्नुपर्ने भूमिका लगायतबारे छलफल भएको छ । पोखरा घोषणापत्रका बुँदाहरु मस्यौदाका रुपमा तयार भएकोले आइतबार बिहानमात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ । आयोजकले पत्रकारलाई सम्मेलन प्रवेशमा रोक लगाएको थियो ।

यसैबीच, सम्मेलनले पोखराका मेयर धनराज आचार्यको अध्यक्षतामा समिति गठन गरेको छ भने आगामी सम्मेलन भरतपुरमा हुने तय भएको छ । ललितपुरमा हुने भनिएको सम्मेलन भरतपुरले माग गरेपछि सारिएको हो । पोखराका मेयर आचार्यले भरतपुरकी मेयर रेणु दाहाललाई मेट्रो मेयर मिटको झण्डा हस्तान्तरण गरेका छन् ।

पहिलो पल्ट भएको यसखालको सम्मेलनमा देशभरका ६ महानगरका मेयर, उपमेयर र सम्बन्धित महानगरका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।

यसैबीच, महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केवलकार अवलोकन गरेका छन् । पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाडौंका मेयर शाह सहित ६ महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतहरुले समेत उक्त केवलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रालिले जनाएको छ ।

उक्त केवलकारमा पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए । हालै निर्माण भएको अन्नपूर्ण केवलकार व्यावसायिकरुपमा गत फागुन ६ गते देखि संचालनमा आएको हो ।

मेयरहरुलाई तल्लो स्टेसन हुदै केवलकारबाट सयर गराउदै माथिल्लो स्टेसनसम्म पुराइएको प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए ।

माथिल्लो स्टेसनमा पोखरा १८ का स्थानीयले मेयरहरुको टोलीलाई पन्चे बाजागाजा सहित स्वागत गरेका थिए । यस्तै, उनीहरुले सराङकोट शिव मन्दिर भ्यु टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारेका छन् ।

पोखरा आसपासका अग्ला डाँडाहरूमा लालीगुराँस रोप्ने र खालि जग्गामा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवाहरू सारिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width