‘काव्यरसमा पोखरा’ लोकार्पण

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७९
Kabyarasma Pokhara (2)

पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले सो अवसर जुराइदिएका हुन् ।

२०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिंदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा ‘काव्यरसमा पोखरा’ नाम दिएर उक्त कृवितासंग्रह लोकार्पण गरेका हुन् ।

समारोहमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।

मेयर आचार्यले न्याय क्षेत्रमा क्रियाशील व्यक्तिले पोखरालाई कर्म थलो बनाएको बेलामा गरिएको चिन्तन स्तुत्य र पोखराबारे लेखिएका सबै कविता एकै ठाउँमा पढ्ने अवसर मिलाएर ठूलो गुन लगाएको बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पोखराबारे लेखिएका कवितालाई यसरी लोकार्पण गर्न पाउँदा खुसी लागेको धारणा राख्दै पोखराले सबैलाई कवि बन्न प्रेरित गरेको उल्लेख गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले आफूँले ५० वर्ष पछिको पोखरा मोदी, मादी र आँधीबीचको पोखरा हुने आँकलन गरेको बताए । श्रेष्ठले पोखरा सबैको मनको पोखरा भएकाले गण्डकी प्रदेशका जुनसुकै जिल्लाका व्यक्तिले स्थान चिनारी दिंदा पोखरा भन्न रुचाएकोमा खुसी व्यक्त गरे ।

स्रष्टा आचार्यले पोखराको साहित्य, कला र संगीतका माध्यमबाट उल्लेख्य आयआर्जन गर्न सकिने भएकाले त्यतातर्फ पनि ध्यान दिन महानगरलाई सुझाए । उनले यो संस्करणमा भएका कमी कमजोरीलाई सुधार्दै आगामी संस्करणलाई सघाउन पोखरावासीलाई आग्रह गरेका थिए ।

कृतिबारे पाठकीय टिप्पणी राख्दै डा जगन्नाथ रेग्मीले कृतिमा २०१० को दशकदेखि ७८ सालसम्मका अग्रज, अनुज र समकालीन कविका कविता रहेकाले ग्रन्थ सङ्ग्रहणीय रहेको बताए । एउटै कृतिमा पोखराबारे लेखिएका गद्य–पद्य दुवै संरचनाका रचनाले पाठकलाई कृति पठनीय बनाएको उनको धारणा थियो ।

कार्यक्रममा सगरमाथा आरोही अधिवक्ता विष्णु भुषाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबा, दाङ–पोखरा सम्पर्क समाज अध्यक्ष राधा केसी, मावनअधिकार पत्रकार संघ हुर्जा गण्डकी अध्यक्ष असफल गौतमलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width