छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
nsjf gandaki 6 sports award

पोखरा, ११ असार । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनाम हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को नोमिनेसन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।

तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याण्डमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) छन् । प्रदीप अघिल्लो संस्करणमा पनि नोमिनेसनमा थिए ।

यस्तै, वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिबल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् । भलिबलको राष्ट्रिय टिम कप्तान सम्हालेकी अरुणा दोस्रो संस्करणकी वर्ष खेलाडी हुन्।

उदियमानतर्फ दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र साहिल लिम्बु (बक्सिङ) तथा उत्कृष्ट प्रशिक्षक विधामा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र नीरज थापा (टेनिस) परेका छन् । तीमध्ये एक जनालाई असार १८ मा पोखरा सभागृहमा हुने समारोहमा अवार्ड वितरण गरिनेछ । खेलाडी छनोट समिति संयोजकमा विनोद लामिछाने रहेका छन् । सो समिति सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्य विजय नेपाल छन्।

वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् भने उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए ।
मञ्चले वितरण गर्ने कुल ७ विधामध्ये लाइफटाइम अचिमभेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेलकुद पत्रकार विधाको नाम पछि सार्वजनिक गर्ने मञ्च अध्यक्ष दीननाथ बरालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width