जिम्न्यास्टिकमा रोशन र सीता प्रथम

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
jimnyastic gamed

पोखरा । प्रथम गण्डकी प्रदेशस्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीताकुमारी खड्का प्रथम भएका छन् ।

कास्की जिल्ला जिम्न्यास्टिक संघले पोखरामा आयोजना गरेको सो प्रतियोगितामा महिलातर्फ सीताकुमारी खड्का प्रथम, सुवि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् । पुरुषतर्फ रोशन पुन प्रथम, कास्कीकै विशाल पुन द्वितीय र बागलुङका कृष्ण कँडेल तृतीय भए ।

विजेताहरुले नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।

खेलकुद मन्त्री गुरुङले जिम्न्यास्टिक खेललाई बालबालिका तहसम्मै लगेर यसरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले पोखरा रंगशालामा जिम्न्यास्टिक खेल अभ्यासका लागि स्थान उपलब्ध गराएको जानकारी गराउँदै गण्डकी प्रदेश सरकार यस खेल विकासको लागि प्रतिबद्ध रहेको जनाए ।

कास्की जिल्ला जिम्न्यास्टिक संघका कावा अध्यक्ष राजु कायस्थले प्रत्येक खेलका लागि जिम्न्यास्टिक सहायक खेल भएकोले ‘मदर अफ स्पोर्टस्’ मानिए पनि सो अनुसार प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । संघ सचिव प्रकाशचन्द्र सापकोटाले व्यक्तिको सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननी रूपमा रहेकाले राज्यले नै यसको विकासका लागि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा स्वागत सहसचिव राजु केसीले गरेका थिए ।

नेपालमा २०२३ सालमा जापानी सहयोगमा जिम्न्यास्टिक खेलको सुरुवात भएको पाइन्छ । त्यसको ४ वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै