आर्वाविजय माविको सुविधायुक्त भवन

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७९
arba bijay (2)

पोखरा । आर्वाविजय मावि, पोखरा–१३ को पक्की भवन निर्माण भएको छ । भारत सरकारको ३ करोड ९८ लाख ३४ हजार आर्थिक सहयोगमा दुइतल्ले १६ कोठे पक्की भवन निर्माण गरिएको हो ।

भारतीय राजदूतावासका चार्ल डी अफेयर्स नामग्य सी खम्पा र जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षत्री अधिकारीले मंगलबार संयुक्तरुपमा सो भवन उद्घाटन गरेका हुन् ।

भारतीय राजदूतावासका खम्पाले भारतले नेपालको शैक्षिक एवं सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताइन् । नेपाल भारतबीच सदियौ वर्षको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच साझेदारीका आधारमा भएका विकास निर्माण उपलब्धिमूलक हुनुपर्ने उनको जोड थियो ।

भौतिक पूर्वाधार निर्माणले शैक्षिक क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै राजदूतावासका खम्पाले यसको उपयोग र निरन्तरताका लागि स्थानीय समाज सचेत हुनु पर्ने आवश्यकता औल्याइन् ।

जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर क्षत्री अधिकारीले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

विद्यालयको कम्पाउन्ड बाल निर्माणका लागि पोखरा महानगरको साझेदारीमा समन्वयतर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षाको माध्यमबाट मात्र विद्यार्थीको आकर्षण बढ्न सकिने विश्वास व्यक्त गरे ।

स्थानीय शिक्षाप्रेमी प्राडा कमलमणि बराल परिवारले निशुल्क प्रदान गरेको १३ रोपनी जग्गामा सो भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर बरालले बताए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार एवं पूर्व जिविस उपसभापति श्रीनाथ बराल, शिक्षा विकास शाखा प्रमुख नारायणप्रसाद सुवेदी, विद्यालयका प्रअ पद्मादेवी बराल लगायतले भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको महत्व माथि प्रकाश पारे । डिएसआर निर्माण सेवा प्रालिका प्रोपाईटर ऋषिराम गौतमका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न भई नयाँ भवनमा कक्षा सञ्चालन भएको र सम्झौताअनुसार समयमा रकम भुक्तानी नपाउदा अप्ठेरो पर्ने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width