विकाससँगै सुशासनयुक्त र भ्रष्टाचारमुक्त पालिका बनाउने पुतलीबजार प्रमुखका उम्मेदवार रेग्मीको प्रतिवद्धता

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
putalibajar nc

स्याङ्जा। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका प्रतिस्पर्धी उम्मेदवारहरु घरदैलोमा पुगेर मत माग्नमै ब्यस्त छन् ।
विभिन्न राजनीतिक दलहरु आ आफना दलगत गुट सहित आ आफना निर्वाचन क्षेत्रमा पुगेर आ आफनै शैलीले मत माग्ने गरेका छन् ।

निर्वाचन कार्यालयले अन्तिम नामावली प्रकाशसन गरेसंगै यहाँका राजनीतिक दलहरु घर तथा टोलटोलमा पुगेर मत माग्ने अभियानमा जुटेका हुन ।

अघिल्लो पटक पुतलीबजार नगरप्रमुखका उपविजेता नेपाली कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मी यसपटक आफू निर्वाचित भएमा नगरबासीका आवश्यकता अनुरुपका शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससंगसंगै सुशासनयुक्त र भ्रष्टाचार मुक्त पालिका बनाउने अभियानमा जुटेको बताए ।
उनले भने, ‘सदरमुकामसंगै रहेको नगरपालिका अस्तब्यस्त छ । ५ बर्षे समयसीमा उल्लेख्य कुनै काम हुन सकेनन् । बनेका पनि टिकाउ र राम्रा छैंनन् । विकास निर्माणले गति लिएनन् । साँगुरो राजमार्ग, अब्यवस्थित खानेपानी र ढल निकास, बिभेदयुक्त अनुदान तथा सहयोग बितरण लगायत कार्यकर्तामुखी कार्यक्रमका कारण समग्र नगरबासीका पहुँच भन्दा बाहिर बनाइएकोे पालिकालाई सबैको साझा बनाउनेछु । यसपटक मलाई मतदान गर्नुहोस् ।’

सबै बर्ग, धर्म र जातजातीलाई समान शिक्षा, उपचार, रोजगार र सीप विकासमा ध्यान दिई नगरपालिकाको बढ्दो बसाई सराईंलाई नियन्त्रणगरी प्राबिधिक तथा उच्च शिक्षालय स्थापना गर्ने उनले बताए ।

यसैगरी, उपप्रमुख देवी अर्यालले गृहीणीदेखि कामकाजी सबै महिलाको समान सम्मान सहित उनीहरुका हक, हित, अधिकार, रोजगार र न्यायका पक्षमा काम गर्ने बताईन् ।

सबै बर्गका महिलाकालागि सम्मान योग्य काम गर्ने, उनीहरुका क्षमता पहिचानगरी रोजगार तथा सीपमूलक तालिम उपलब्ध गराई महिलामुखी रोजगारी सृजना गर्ने पक्षमा रहेको लक्ष्य उनले सुनाईन् ।

अघिल्लो पटक १२ सय २० मतान्तरले पराजित भएका रेग्मी यसपटक आफु निर्वाचित हुनेमा आशावादी छन् । क्षेत्रीले १० हजार २४९ मत ल्याएर विजयी हुँदा रेग्मीले ९ हजार २९ मत पाएका थिए । चौध वटा वडा रहेको यहाँका मतदाता हाल ३७ हजार ७०८ जना छन् ।
अघिल्लो पटक पनि उनी नेकपा एमालेका तर्फवाट हाल पनि उम्मेदवार बनेकी सीमा क्षेत्रीसंगै चुनावी प्रतिस्पर्धामा थिए ।

यसपटक पनि नेकपा एमालेका तर्फवाट उही पुराना प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखलाई दोहारयाएको छ । तर, नेपाली कांग्रेसले भने प्रमुखका प्रत्यासी रेग्मीलाई पुनः उम्मेदवारी बनाएको हो भने उपप्रमुखमा अर्याललाई पहिलो पटक उम्मेदवारी बनाएको हो । उनी नेपाली कांग्रेस महासमिति सदस्य हुन भने रेग्मी क्षेत्र नं. १ का क्षेत्रीय सभापति हुन ।

Related News

सम्बन्धित समाचार

hero news full width