म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पुर्याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा डोजर किनेका हुन् । मञ्चका सचिव प्रेम छन्त्यालले कम्पनीले खरिद गरेको डोजर परिचालन गरेर धवलागिरि गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ हुँदै गुर्जा जोड्ने सडक अन्तर्गत महतला भिरमा मार्ग खोलिएको बताउनुभयो ।
“स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले सडक निर्माणका लागि चन्दा सङ्कलन गरेर डोजर किनेका हौँ,” उहाँले भन्नुभयो “हालसम्म करिब रु ७०/७५ लाख सङ्कलन जुटिसकेको छ ।” गुर्जा घर भई हाल पोखरामा बस्नुहुने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको छ ।
म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्ये गुर्जा मात्रै सडक नपुगेको वडा हो । धवलागिरि गाउँपालिका–२ लुलाङदेखि गुर्जा पुग्न तीन हजार ३०० मिटर अग्लो देउरालीडाँडा पार गरेर भीर, जङ्गल र खोल्साको पैदलमार्गमा पूरै दिन हिँड्नुपर्छ । २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जाका बासिन्दा गम्भीर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्ट्रेचर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ । पछिल्लो एक वर्षमा अस्पताल जान हेलिकप्टर चार्टर गर्न मात्र गुर्जावासीले करिब रु ४० लाख खर्चेको मञ्चका सचिव छन्त्याल बताउनुहुन्छ ।
खच्चर र भरियालाई पिँठ्युमा बोकाएर सामग्री ढुवानी गर्नुपर्छ । महतलादेखि गुर्जाको प्रतिकिलो ढुवानी शुल्क रु २२ तिर्नुपर्छ । विपन्न र शारीरिक अशक्त गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेका सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । आलु, जडीबुटी र पशुजन्य वस्तु निकासी गर्न समस्या भएको छ ।
लोत्ता, पुवा, चोयालगायत वनपैदावार जङ्गलमा कुहिएर खेर गएको छ । महँगो ढुवानीका कारण विकास आयोजनाको लागत बढेर कार्यान्वयनमा समस्या भएको स्थानीयवासी गोर्खाबहादुर छन्त्यालले बताउनुभयो ।
गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासमा गत पुस महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारवाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुसमा बिएन कन्ट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।
विसं २०७७ चैतदेखि सहायक निर्माण व्यवसायीको रुपमा काम थालेको चुरेन कन्ट्रक्सनको डोजरले महतलाको भिरमा मार्ग खोलिएको हो । चट्टान काटेर मार्ग खोलिएको सडकको ग्रेड मिलाउने र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउने काम भइरहेको छ । महतलादेखि लुलाङ हुँदै गुर्जातर्फ जाने सडक खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादले निर्माण हुनसकेको छैन् । विवादित भूगोललाई छोडेर लुलाङदेखि देउराली हुँदै गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । धवलागिरि गाउँपालिकाले रु चार लाख खर्चेर बनाएको डिपिआर अनुसार सो सडक निर्माणका लागि रु ४७ करोड ८७ लाख लगानी आवश्यक पर्छ ।
“वडा र पालिकाको बजेटबाट सम्भव नहुने भएपछि डिपिआर बनाएर सङ्घ र प्रदेश सरकारमा योजना प्रस्ताव गर्ने तयारीमा छौँ,”वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “गुर्जावासीले आफै डोजर खरिद गरेर सडक निर्माणमा अग्रसर भएपछि बजेट व्यवस्थापनमा दबाब परेको छ ।” सरकारले इन्धन र चालकको तलब भत्ताको व्यवस्था गरेमा डोजर परिचालन गरेर सडक खन्ने गुर्जा विकास मञ्चका पदाधिकारीको भनाइ छ ।
विसं २०७४ मा भूगर्वविद् र प्राविधिक टोलीले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको छ । गुर्जातर्फबाट मजदूर परिचालन गरेर देउरालीदेखि वनामसम्म दुई किलोमिटर आन्तरिक सडक निर्माण भएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१