लागुऔषध खोज्न अदालतसम्म

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
court~main

पोखरा । जिल्ला अदालत कास्कीमा मंगलबार बेलुका साढे ५ बजे सबै काम सकियो । कर्मचारीहरु सबै झ्याल ढोका लगाएर घर निस्किए । बुधबार बिहान कार्यालय समयमा अदालत खुल्यो । बहसको काम सुरु गर्नुभन्दा अघि करिब ९ बजे कार्यालय सफा गर्ने एक महिला कर्मचारीले अदालतको ढोका फोडिएको र सामान यत्रतत्र फिजारिएको देखिन् ।
उनले अदालत प्रशासनमा खबर गरेलगत्तै प्रशासनबाट प्रहरीमा खबर भयो । वडा प्रहरी कार्यालय बैदामअघि रहेको अदालतमा भएको तोडफोडका घटनाले प्रहरीमा झनै चुनौती थपियो । अदालतबाट खबर प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान थाल्यो । मुचुल्का लिनेदेखि फिन्गर प्रिन्ट संकलन गर्‍यो ।
अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुका अनुसार अदालतको १ र ६ नम्बरको इजलास, दराज र बेन्च लगायतमा तोडफोड भएको हो । घटनास्थलमा प्राप्त प्रमाण आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अभियुक्तको खोजी गर्न सुरु ग¥यो । दिनभरको खोजीपछि रातको १० बजे १ व्यक्ति नियन्त्रणमा लियो । उक्त व्यक्तिले दिएको बयान आधारमा उनी अभियुक्त हो भन्ने निचोडमा पुग्यो । बिहीबार बिहान पत्रकार सम्मेलन गरी जिल्ला अदालत कास्की तोडफोड गर्ने उनलाई सार्वजनिक ग¥यो । उनी थिए, पोखरा १५, टुटुंगाका २७ वर्षीय दावा भनिने अर्जुन परियार ।
तोडफोड गरेका कोठाको दराज फोरिएको तर नजिकै भएको कम्प्युटर लगायत सामान नलगेको हुँदा अदालतका कर्मचारीको आंकलन मिसिल चोरी भयो कि भन्ने थियो । तर परियारले दिएको बयान भने अचम्मको छ । उनले कागजात र मिसिल होइन, लागु औषध खोज्न अदालतको ढोका फोडेको बताए । लागुऔषध खानकै लागि अदालतमा यस्तो हर्कत गरेको उनी आफैले स्वीकारेका छन् ।

पक्राउ पर्नेमा पोखरा १५ का २७ वर्षीय दावा भनिने अर्जुन परियार हुन्

कासकी प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार परियार २०७३ सालदेखि लागुऔषधसँग सम्बन्धित मुद्दामा पटकपटक पक्राउ पर्दै आएका छन् । उनी घर र थुनामा बराबरीजस्तो बस्ने गरेको प्रवक्ता तिवारीको भनाइ थियो । पछिल्लो पटक उनी फागुन २३ मा वडा प्रहरी कार्यालय बैदामबाट थुनामुक्त भएका थिए । पटक–पटक जिल्ला अदालत धाउने अदालतमा लागुऔषध कहाँ राखिन्छ भन्ने नजिकबाट नियालेका थिए ।
मंगलबार राति पनि उनी लागुऔषध लिनकै लागि अदालतको पछाडिपट्टि पुगे । जहाँ लागु औषध नष्ट गरिने ठाउँ छ । त्यहाँ खोजखाज गर्दा त्यहाँ नर्फिन र फेनेरागनका ३ एम्पुल लागुऔषध भेट्टाए । अदालतमा कहाँ राख्न भनेर थाहा पाएका उनको मन यतिकै मानेन । अनि हानिए इजालसतर्फ । ‘त्यहाँ मैले ३ वटा लागुऔषध भेट्टाएँ । त्यसपछि भित्र पनि पाइन्छ कि भनेर छिरेको हुँ,’ बयानमा परियारले भनेका छन् । परियार अदालत परिसरमै भेटिएको १ सय १० इन्च लामो फलामे रड प्रयोग गरेर अदालतको ढोका फोरे । भित्र लागु औषध नभेटेपछि रड छाडेर हिंडे । परियारले आफूलाई लेखपढ गर्न नआउने भन्दै पैसा र लागुऔषध पाइन्छ कि भनेर अदालत छिरेको बयान दिएका छन् । आरोपित परियारलाई प्रहरीले जिल्ला अदालतमा अनाधिकृत प्रवेश तथा अपराधिक उपद्रवसम्बन्धी र नकबजनी चोरी उद्योगमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए ।
अदालतको इजलास नम्बर १ को कोठाको ढोकामा लगाएको ताला फोडेको, इजलासभित्रको काठको टेबुलमाथि इन्डेक्स फाइल यत्रतत्र छरिएको, इजलास नम्बर ६ को मूलढोकामा लगाएको ताला फोडिएको, कोठाभित्रको काठको टेबुलको तलको घर्रा खुला रही कागजात यत्रतत्र छरिएको थियो । साथै बांगिएको अवस्थामा फलामको रड प्रहरीले बरामद गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width