बाबाको ‘दोसाँध’ कविता संग्रह लोकार्पण

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
durga baba saha

पोखरा । कवि एवं गीतकार दुर्गाबहादुर शाह ‘बाबा’ द्वारा रचना गरिएका कविताहरूको सँगालो ‘दोसाँध’ पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षामा एक समारोहबिच नेपाली साहित्यका बहुप्रतिभाशाली व्यक्तित्व प्रकाश सायमीले लोकार्पण गरे ।
लोकार्पण गर्दै प्रस्तोता, साहित्यकार एवं चलचित्र निर्देशक सायमीले कुनै पनि साहित्यिक कृति कुनै पनि पाठकका लागि सुन्दर हुन सक्छ र त्यो कृति निश्चित मापदण्डभित्र पर्नै पर्छ भन्ने हुँदैन भन्दै प्राज्ञिक समूहभित्र पर्न कविता लेखन अनिवार्य भएको बताए । हरेक स्रष्टा र कृतिका आ–आफ्नै पाठक हुने भएकाले कृति सर्वप्रिय हुनैपर्छ भन्ने मान्यतासमेत राख्न नहुने विचार व्यक्त गरे । पुरस्कृत कृति मात्रै सर्वोत्कृष्ट हुने र अन्य कृति निकृष्ट हुने धारणा पनि गलत हो भन्ने तर्क राख्दै उनले कविता सर्वाधिक लोकप्रिय साहित्यिक विधा हो भएको बताए । उच्च अदातल कास्की, पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, अतिथि विम्बकवि रमेश श्रेष्ठ, प्राडा रामनाथ ओझा, पद्मकिरण रानालगायतले बोलेका थिए ।
लोकार्पित कृति ‘दोसाँध’ को समीक्षा रूपिन्द्र प्रभावीले गरेका थिए भने स्रष्टाको कृतिगत परिचय नगेन्द्रप्रसाद पौडेलले दिए । लीली अधिकारीले ‘दोसाँध’ बाट आफूलाई मनपरेको एक कविता वाचन गरेकी थिइन् । कवि एवं गीतकार दुर्गाबहादुर शाह ‘बाबा’ लाई सार्क राष्ट्रका महासचिवद्वारा पठाइएको शुभकामनापत्र समेत वाचन गरेर सुनाइएको थियो । स्रष्टा शाहले आफ्नो उपनाम ‘बाबा’ को अर्थ फराकिलो सोंच, शैक्षिक, विश्वासयोग्य र उपलब्धिमूलक व्यक्ति भएको हो भनी स्पष्ट पार्दै आफूले लामो समयको अन्तरालपछि कवितागत दोस्रो कृति पाठकमाझ ल्याएको भए तापनि साहित्यका अन्य विधामा समेत कलम चलाउँदै आएको उल्लेख गरे । हालसम्म कविता र गीतका समेत गरी ५ वटा कृति पाठक तथा दर्शकसामु पस्किसकेको बताउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै जाने बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता दुर्गा न्यौपाने र सञ्चालन असफल गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width