रोटरी पोखरा न्यूरोडको पदस्थापन

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
Rotary newroads

पोखरा । रोटरी क्लब अफ पोखरा न्यूरोडको १२ औं पदस्थापन भएको छ । पदस्थापन अधिकृत एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट जितेन्द्रबहादुर राजभण्डारीले वर्ष २०२१÷०२२ का क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका हुन् ।
राजभण्डारीले नेपालमा रोटरीको आवश्यकता र महत्व बढ्दै गएको बताउँदै थप जिम्मेवार भएर अघि बढ्न सुझाव दिए । उनले रोटरियन सधैं समाजका सारथि हुन्, अहिले विश्वमा देखिएको संकटले रोटरीलाई थप जिम्मेवार बनाएको बताए । सामाजिक क्रियाकलापलाई तिव्रता दिनका लागि रोटरियन सक्रिय भएर लाग्न आह्वान गरे ।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले पदस्थापित अध्यक्षलाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना प्रदान गरे । उनले रोटरी क्लबले गरेको सामाजिक कामको प्रशंसा गर्दै सामाजिक सेवामा लाग्न सबैलाई आग्रह समेत गरे । समारोहमा डिष्ट्रिक्ट गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजु, क्लबका संस्थापक अध्यक्ष रविराज बराल लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभेच्छा दिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति शर्माले वर्ष २०२१/०२२ अध्यक्ष सुवर्ण कोइरालालाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गरे । शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष सहितको नयाँ टिमलाई सफल कार्यकालको कामना गरे ।
यस्तै, क्लबको प्रोजेक्ट पाटर्नर बाबा फाउन्डेसन नेपाललाई सम्मान गरिएको पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए । डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजभण्डारीले फाउन्डेसन सचिव टंकराज अधिकारीलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष कोइरालाले क्लबले गरेका कार्यको निरन्तरता दिँदै कोभिड–१९ ले निम्ताएको संकटलाई चुनौतीबीच अवसरको पहिचान गरी क्लबमा एउटा इँट्टा भए पनि थप गर्ने प्रतिबद्वता ब्यक्त गरे । कार्यक्रममा क्लब प्रेसिडेन्ट इलेक्ट गीता सिग्देल, प्रेसिडेन्ट नोमिनी रामविक्रम अधिकारी, भाइस प्रेसिडेन्ट दीपेन्द्र शर्मा, सचिव अमृतप्रसाद बास्तोला लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width