अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने

आहा रारा गोल्डकप

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
aahaa

अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करणको आहा–रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले हराउँदै पाहुना टोली उपाधि नजिक पुगेको हो ।

सुरुआतको तेस्रो मिनेटमै उसले बसिकको गोलसँगै अग्रता लिएको थियो । डफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रण लिँदै मउसाले दिएको पास बसिकले गोलमा परिणत गरेका थिए । सुरुमै गोल खाएपछि पुलिस दबाबमा परेको थियो ।

खेल सकिनै लाग्दा मउसाले गोल गर्दै जित सुनिश्चित गरे । दोस्रो हाफको ४ मिनेटको इन्जुरी टाइममा अन्तिममा रिमको पास सदुपयोग गर्दै उनले गोलअन्तरले दोब्बर पारेका थिए । प्रतियोगितामा मउसा नै म्यान अफ दि म्यान घोषित भए । यो जितसँगै अफ्रिकन टिमले फाइनलमा संकटा क्लबसँग भेट पक्का गरेको छ ।

बिहीबार खेलको २० औं मिनेटमा बसिकले गोलअन्तर दोब्बर बनाउने मौका खेर फालेका थिए । बाकोपले मिलाइदिएको पासमा वान भर्सेस वान अवस्थामा प्रहार गरेको बल निकै आकासिएको थियो । दोस्रो हाफमा भने पुलिसले केही सुधारिएको खेल खेल्यो । भरपर्दा फरवार्ड जुमानु राईलाई मैदान प्रवेश गराएपछि खेल केही सुधारिएको थियो । ५२ औं मिनेटमा जुमानुले करिब २३ यार्डबाट गरेको प्रहार सहजै गोलक्षकले बचाएका थिए । रुट्सका कुइटेकाको प्रहार सेकेन्ड बार हुँदै बाहिरिएको थियो । दोस्रो हाफको अधिकांश समय आफ्नो नियन्त्रण राखेको खेलमा गोल गर्न नसकेको पुलिसले अन्तिम समयमा गोल खाएपछि पुलिस सेमिफाइनलमै रोकिएको हो । अफ्रिकनका खेलाडी अग्लो भएकाले पनि हाइ पासेज र हेडरको थेरै प्रयोग गरेका थिए । खेलमा दुवै टीमका ३÷३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । प्रहरीले क्याराभान सहित ६ पटकसम्म आहारारा गोल्डकपको उपाधि जितेको छ । हरेक वर्षजसो फुटबल खेल्न पोखरा रंगशाला आउने पुलिस ४ पटकको उपविजेता हो । अघिल्लो १८ औं संस्कराण्मा भने पुलिसले फाइनलमा मनाङलाई उपाधि सुम्पेको थियो ।

यसपालि उपाधि होडबाट बाहिरिएपछि प्रशिक्षक अनन्तराज थापाले सुरुवातमा गोल खानु दुर्भाग्य भएको बताए । केही खेलाडी पूर्ण रुपमा फिट नभएका कारण आफूहरुलाई केही समस्या परेको उनको प्रतिक्रिया छ । उनले भने, ‘विपक्षी टिम शारीरिक रुपमा फिट र राम्रो भएकोले खेलमा फर्किन गाह्रो भयो ।’

अफ्रिकन टिमका प्रशिक्षक सिंगे बोरिसले सुरुआतमै गोल निस्केपछि जित सहज भएको बताए । अर्को खेलमा अघिल्ला चरणभन्दा राम्रो गर्ने योजना रहेको बताए । आफूसँग केही नाम चलेका खेलाडी भएका कारण पनि फाइनलसम्म पुग्न सफल भएको उनको भनाइ छ ।

विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल शनिबार हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width