१४ बालुवा प्रशोधन केन्द्र सिल

रामकुमार श्रेष्ठ
मंसिर २७, २०७७
nawalpur

नवलपरासी, २६ मंसिर । रीत पूरा नगरी दर्ता भएका १४ वटा बालुवा प्रशोधन उद्योग सिल गरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा मात्र दर्ता गर्ने, साना तथा घरेलु उद्योगमा दर्ता नगर्ने, स्थानीय पालिकाको इजाजत नलिने गरेका पूर्वी नवलपरासीका १४ बालुवा प्रशोधन उद्योग सिल गरिएको हो । जुन उद्योगहरु बालुवा प्रशोधन उद्योग भनी कुनै एक ठाउँमा दर्ता गरिए पनि क्रसर उद्योगसरह सञ्चालनमा समेत थिए ।

बिहीबार रातिसम्म अनुगमनमा रहेको टोलीले विनयी त्रिवेणी गाउँपालिकाभित्र बिनादर्ता सञ्चालनमा रहेका १२ वटा बालुवा प्रशोधन केन्द्र सिल गर्यो । यसअघि हुप्सेकोटको देउराली बालुवा प्रशोधन तथा निर्माण सामग्री उद्योग र कावासोतीको भोलेबाबा बालुवा प्रशोधन उद्योगमा सिल गरिएको थियो ।

विनयी त्रिवेणी गाउँपालिकामा रहेको महावीर बालुवा प्रशोधन उद्योग, एमके नेचुरल वासिङ्ग प्लान्ट, जयगुरु गणेश कन्ट्रक्सन वास प्लान्ट, ज्यामिरे बालुवा प्रशोधन प्रालि सिल गरिएको छ ।

त्यसैगरी नमोबुद्ध सप्लायर्स एण्ड स्यान्ट प्रोसेसिङ्ग प्रालि, विनयी सर्दी कन्ट्रक्सन एण्ड गिट्टी बालुवा प्रशोधन, दृष्टि कन्ट्रक्सन एण्ड गिट्टी बालुवा प्रशोधन, एसजी बालुवा प्रशोधन केन्द्र, सुन टाँडी बालुवा प्रशोधन केन्द्र, विन्धबासिनी बालुवा प्रशोधन तथा निर्माण प्रालि, भैरव बाबा प्रशोधन उद्योग र विनयी बालुवा प्रशोधन सिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, विद्युत् कार्यालय, साना तथा घरेलु उद्योग कार्यालयलगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । अनुगमनमा १२ वटा क्रसर उद्योग र २४ वटा बालुवा प्रशोधन उद्योग दर्ता भए सञ्चालनमा रहेका र १४ वटा रीत पूरा गरेर दर्ता नभएको पाइएकोले सहायक प्रजिअ थापाले बताए ।

अनुगमन टोलीले दर्ता भएर सञ्चालनमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग मापदण्डअनुसार सञ्चालन रहे नरहेको, भ्याट बिल नियमित काटे–नकाटेको, नक्कली बिल काटे–नकाटेको समेत अनुगमन गरेको छ । उद्योगमा स्टक रहेको नदीजन्य सामग्री स्टक प्रमाणित गर्न सम्बन्धित पालिकामार्फत पत्र समेत पठाइएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अनुगमनमा ती उद्योगले धेरै कुराहरु पालना नगरेको पाइएको बताए । उनले मुख्य गरेर कर छली नै गरेको समेत भेटिएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width