नोभाक जोकोभिच युएस ओपन टेनिसको अन्तिम १६ मा

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
Novac Djokovic, US Open

तस्बीर साभार : अडस् कभर्स डट कम

पोखरा । विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसको अन्तिम १६ मा स्थान बनाएका छन् ।

सर्वियाका ३३ वर्षीय जोकोभिचले जान लेनार्ड स्ट्रफमाथि सहज विजय हासिल गर्दै युएस ओपनको अन्तिम १६ स्थान बनाएका हुन् ।

जोकोभिचले अर्थर एशे रंगशालामा जर्मनीका २८ औं वरीयाताप्राप्त लेनार्ड स्ट्रफलाई ६–३, ६–३, ६–१ को सेटमा हराएका हुन् ।  १८ औं ग्राण्ड स्लामको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिच २०२० मा अपराजित रहेका छन् । जोकोभिचले अब स्पेनका २० औं वरीयाताप्राप्त पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन् ।

जोकोभिचको चौथो चरणका प्रतिद्वन्द्वी कारेनो बुस्टाले पनि लिथुनियाका रिकार्डस बेरानकिसलाई सोझो सेटमा हराउँदै चौथो चरणमा स्थान बनाएका हुन् । कारेनो बुस्टाले बेनानकिसलाई ६–४, ६–३, ६–२ को सेटमा हराएका थिए ।

जर्मनीका जेभेरेभ पनि चौथो चरणमा

जर्मनीका एलेक्जेन्डर जेभेरेभले युएस ओपन टेनिसको चौथो चरणमा स्थान बनाएका छन् ।

झन्डै तीन घन्टा ढिला गरी शुरू भएको खेलमा पाँचौं वरीयताका जेभेरेभले एड्रियन मन्नारिनोलाई ३–१ को सेटमा हराउँदै युएस ओपनको चौथो चरणमा स्थान बनाएका हुन् । जेभेरेभले मन्नारिनोलाई ७–६ (७ र ४), ४–६, २–६, २–६ को सेटमा पराजित गरे ।

लुइस आर्मस्ट्रङ रंगशालामा ३२ औं वरीयताका मन्नारिनोमाथि विजय हासिल गर्न जेभेरेभलाई २ घण्टा ५२ मिनेट समय लागेको थियो । बोनोइट पाइरे कोरोना भारइस संक्रमित भएपछि मन्नारिनोसहित सात खेलाडीलाई थप स्वास्थ्य सुरक्षा निगरानीमा राखिएको थियो । मन्नारिनोलाई खेल्न दिने कि नदिने भन्ने अन्योलका कारण खेल निर्धारित समयभन्दा २ घन्टा ४५ मिनेट ढिला गरी शुरू भएको थियो ।


तस्बीर साभार : फ्रि मलेसिया टुडे डट कम

अन्ततः न्युयोर्क सिटीका अधिकारीहरूले मन्नारिनोलाई खेल्न दिने निर्णय गरेको थियो । प्रतियोगिताबाट बाहिरिए पनि मन्नारिनो घर जान भने नपाउने भएका छन् । उनी न्यूयोर्कमै होटलको कोठामा एक हप्ता क्वारेन्टिनमा बस्नु पर्नेछ ।

जेभेरेभले भने अब क्वार्टरफाइनल प्रवेशका लागि स्पेनका अलेजेन्ड्रो डेभिडोविच फोकिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । फोकिनाले बेलायतका क्यामरोन नोरीलाई ७–६ (७ र २), ४–६, ६–२, ६–१ को सेटमा हराएका थिए ।

त्यस्तै, सातौं वरियताप्राप्त बेल्जियमका डेबिड गोफिनले सर्वियाका फिलिप क्रजिनोभिचलाई ६–१, ७–६ (७ र ५), ६–४ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाए । गोफिनले अब डेनिस शापोभालोबविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । शापोभालोबले टेलर फ्रिट्जलाई ३–६, ६–३, ४–६, ७–६ (७ र ५), ६–२ को सेटमा हराएका थिए ।

जापानी स्टार ओसाकाको कठिन जित

जापानी स्टार नाओमी ओसाकाले युएस ओपनको चौथो चरणमा स्थान बनाउन कठिन जित निकालिन् । ओसाकाले बिहीबार राति मार्टा कोसट्युकसँग संघर्षपूर्ण जित निकालेकी हुन् ।

युएस ओपन २०१८ की विजेता ओसाकाले युक्रेनकी कोसट्युकलाई पराजित गर्न ३ सेट खेल्नुपरेको थियो । चौथो वरीयताप्राप्त ओसाकाले १८ वर्षीया कोसट्युकलाई ६–३, ६–७ (४ र ७), ६–२ को सेटमा हराइन् ।

तस्बीर साभार : युएस ओपन डट ओआरजी डट कम

ह्यामस्ट्रिङ चोटमुक्त भएर फर्किएपनि ओसाकाले बायाँ खुट्टाका अझै भारी ‘टेप’ लगाएर खेलेकी थिइन् । आफूले शतप्रतिशत दिन नसकेपनि तर के स्पष्ट पार्न चाहन्छु भने प्रतिस्पर्धामा आफू फिट भएरै खेल्न आएको ओसाकाले खेलपछि स्पष्ट पारेकी छिन् ।

जापानी स्टार २२ वर्षीया ओसाकाले अब चौथो चरणमा १४ औं वरियताकी एनेट कोन्टाभिएटसँग प्रतिस्पर्धा गर्नेछिन् । १४ औं वरीयताकी कोन्टाभिएटले पोल्यान्डकी मागडा लिनेटलाई सोझो सेटमा पराजित गरेर चौथो चरणमा स्थान बनाएकी हुन् । कोन्टाभिएटले लिनेटलाई ६–३, ६–२ को सेटमा हराइन् ।

त्यस्तै, महिलातर्फको युएस ओपनमा अर्की १७ औं वरियताकी एन्जेलिक केरबेरले आन लीलाई ६–३, ६–४ को सेटमा हराउँदै चौथो चरणमा स्थान बनाइन् । केरबेरले अब अमेरिकाकी २८ औं वरियताप्राप्त जेनिफर बार्डेसँग प्रतिस्पर्धा गर्नेछिन् । बार्डेले फ्रान्सकी क्यारोलिन गार्सियालाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width