सुनसान प्रदेश संग्रहालय

ऋषिराम बराल
श्रावण ३१, २०७७
p3

पोखरा, ३० साउन । विगतमा दिनहुँ सयौं अवलोकनकर्ता । संग्रहालय छेउछाउमा त्यत्तिकै चहलपहल । तर अचेल यहाँ सुनसान छ । यतिसम्मकी गत चैत ७ देखि संग्रहालयको मूलद्वारबाट ९ कर्मचारीबाहेक कोही पनि प्रवेश गरेका छैनन् । विगतमा स्वदेशी तथा विदेशी गरी दिनहुँ सयौं अवलोकनकर्ता प्रवेश गर्ने भएपनि कोरोना प्रभावका कारण पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालय, पोखरा यतिखेर सुनसान बनेको हो ।

‘अवलोकनकर्ता घट्नेक्रम २०७२ सालको विनासकारी भूकम्पपछि शुरु भएको हो,’ संग्रहालय प्रमुख करुणा राईले भनिन्, ‘तर अहिले कोरोना महामारीले संघीय सरकारले नै पुरातत्व विभागलाई नै संग्रहालय प्रवेश बन्द गर्न परिपत्र गर्यो ।’

चहलपहल घटेसँगै संग्रहालय वरपर झारपातले झाडी बनेपछि शुक्रबार सरसफाइमा लागेका कर्मचारी भन्दै थिए,

‘संग्रहालयमा यस्तो अवस्था आउला भनी सोचेका पनि थिएनौ । पाँच महिनायता संग्रहालयको आम्दानी भनेकै संग्रहालयको पश्चिमपट्टीका ८ वटा सटरको भाडामात्र छ ।’

आर्थिक वर्ष २०७५/०७६ मा १० हजार १ सय ४८ जनाले संग्रहालय अवलोकन गर्न आएकोमा सो संख्या आधाजसो घटेर आव २०७६/०७७ मा ५ हजार ८ सय २५ जनामात्र रहेको तथ्यांक छ ।

‘संग्रहालयमा अधिकांश भारतीय पर्यटन आउने गर्थे । भारतको गर्मी छल्न चैतदेखि नै उनीहरु साउनसम्म आउने गर्थे । तर अहिले कोरोना संक्रमणकै कारण स्वदेशी तथा विदेशी अवलोकनकर्ता आउने कुरै भएन,’ संग्रहालयकी प्रमुख राईले भनिन् ।

यहाँ आउने मानिसलाई व्यवस्थापन गर्न ९ जना कर्मचारीलाई भ्याइनभ्याई हुन्थ्यो । अहिले ती कर्मचारी दिनभर बेकाम बस्नु पर्ने अवस्था छ ।

‘बन्दाबन्दीले छिट्टै निकास पाउने आशामा थियौ । सोचेजस्तो भएन। देशैभर फेरि कोरोना संक्रमण फैलिनेक्रम बढेसँगै अब कति समय अवलोकनकर्ताको पर्खाइमा बस्नु पर्ने हो ?’ कार्यालयका अर्का अधिकृत कविन्द्रराज पौडेलको प्रश्न छ ।

कुल २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त संग्रहालयमा यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिको रहनसहन, भोषभूष, रीतिरिवाजका मूर्त र अमूर्त सामग्री, मुस्ताङमा उत्खनन् गरिएका २ सय वर्ष पुराना र नयाँ सामग्री लगायत राखिएको छ । पुराना माटाका प्याला, जनावरका हड्डीका माला साथै फलामका औजार संग्रहालयमा संग्रहित रहेको जानकारी संग्रहालय प्रमुख राईले बताइन् ।

अनुसन्धान गर्ने अवलोकनकर्ताका लागि प्रदेश संग्रहालय पोखरा महत्वपूर्ण भएपनि प्रचार अभावमा अन्य संग्रहालयको तुलनामा संख्या न्यून हुने गरेको कर्मचारीको गुनासो रहँदै आएको छ । संग्रहालयमा प्रवेश शुल्क वापत तेस्रो मुलुकका व्यक्तिलाई १ सय, सार्ककालाई ५० र नेपालीलाई २० रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई मात्र १० लाग्छ । शैक्षिक कार्यक्रमअन्तर्गत संग्रहालयमा वार्षिक ग्राहक बनेका विद्यार्थीलाई निःशुल्क प्रवेश सुविधा समेत दिइन्छ ।

पोखरामा प्रदेश संग्रहालयसँगै अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गोर्खा म्यूजियम, गुरुङ संग्रहालय लगायत संग्रहालय संचालनमा छन् । नेपालमा गत चैत ११ देखि सुरु गरिएको लकडाउन १२० दिनसम्म जारी रहेर साउन ७ मात्र हटाइएको थियो । तैपनि कोरोना संक्रमित दर नघटेपछि संग्रहालय लगायत मानिसको भीडभाड हुने स्थानमा आवातजावतमा सरकारले रोक लगाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width