रियल मड्रिड शीर्ष स्थानमा, बार्सिलोना बराबरीमा रोकियो

आदर्श समाज सम्वाददाता
असार १५, २०७७
Raeal Madrid vs Espanyol, La Liga

पोखरा । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले शिर्ष स्थान बनाएको छ ।

लिगमा ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियाल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ । आइतबार राति भएको खेलमा ला लिगाको पुछारमा रहेको क्लब इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियाल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।

अवे मैदानमा निकालेको यो जितसँगै रियाल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँग २ अंकको दुरी बनाएको छ । इस्पानियोलविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे । जितपछि रियाल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । रियाल मड्रिड सन् २०१२ यता पहिलो पटक ला लिगाको उपाधि खोजीरहेको छ ।

शीर्ष स्थान लिनबाट बार्सिलोना चुक्यो

स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएपछि बार्सिलोनालाई यस सिजनको ला लिगा उपाधि होड महङ्गो बनेको छ । जारी ला लिगाको ३२ खेलबाट रियल मड्रिडले ७१ अंक बनाउँदा समान खेलबाट दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ ।

पछिल्लो दुई खेलमा बार्सिलोनाले बराबरी खेलेपछि शीर्ष स्थानका लागि चुकेको हो । शनिबार राति भएको खेलमा बार्सिलोना र सेल्टा भिगोले बराबरी खेलेपछि बार्सिलोनाले ला लिगाको शीर्ष स्थान ओगट्ने अवसर गुमाएको हो ।

दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोनाले सेल्टालाई उसैको घरेलु मैदानमा हराउँने मौका गुमायो र अन्ततः २–२ को बराबरीमा रोकिन बाध्य बन्यो ।

खेलको २० औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । बार्सिलोना कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रीकिकमा स्वारेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर ग¥यो । खेलको ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।

खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः दोस्रो पटक अग्रता दिलाए । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई स्वारेजले डिफेन्सलाई चिर्दै उत्कृष्ट टर्नमा गोल गरेका थिए ।

निर्धारित समयको ३ मिनेट बाँकी रहँदा सेल्टाले पुनः खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रीकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width