मौलिकता हराउँदै गएको तीज र हाम्रो समाज

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७३

हिन्दू नारीको महान् चाड तीज नजिकिँदै छ। टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीतहरू बज्दै छन्। संघ, संस्था, सर्म्पर्क समितिले पार्टीप्यालेसमा चेलीबेटीलाई दर खुवाउन थालिसकेका छन्। तीज महिनाभरि दर खाने पर्वको रुपमा विकसित हुँदै छ। हिन्दू धर्म, संस्कृतिमध्ये नारीको चाडको रुपमा रहेको हरितालिका तीजको मौलिकता अब हराउँदै गएको छ। समयको परिवर्तनसँगै चार्डपर्वको मौलिकतामा सामान्य परिवर्तन हुनु स्वभाविक मानिएता पनि मूल स्वरुप नै परिवर्तन हुनु राम्रो होइन। धार्मिक दृष्टिकोणले तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो। पार्वतीले आत्मनिर्णयको अधिकार प्रयोग गरेर आफ्नो पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो। महिला अधिकारको गरिमामय चाडका रुपमा रहेको यो पर्वलाई हामीले सांस्कृतिक विचलन गराएका छौं।

भोज कि दर ?

समयसँगै हाम्रो जीवनशैली परिवर्तन भएको छ। हिजो घरमा पाहुनालाई गरिने सत्कार, सम्मान अब होटल, रेष्टुरातिर सरेको छ। अहिले तारे होटलमा लगेर पाहुनालाई खाना खुवाएमा ठूलो मान्छे गनिन्छ। घरमा आफ्नै हातले पकाएको खानामा मन लागेको छैन। तीजमा हाम्रा दिदीबहिनीले पार्टीप्यालेस, होटल, रेष्टुरेण्टमा गएर भोज खाएका छन् तर ब्यानरमा चेलीबेटीलाई दर खुवाउने कार्यक्रम भनेर लेखिएको छ। महिलाले बुझ्नु पर्छ यो ‘दर’ होइन, भोज हो। भोज केको निम्ति खाँदै हुनुहुन्छ – भोलिपल्ट व्रत बस्न हो र, होइन। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर शिवको पूजा गर्नका निम्ति अघिल्लो दिन दर खाने चलनलाई यसरी विकृत बनाउँदा तीजको मूल मर्म र मौलिकता हराएको छ। महिला अधिकारबारे वकालत गर्ने संघ, संस्था, कार्यालयले समेत महिलालाई दरको नाममा भोज खुवाएर महिला मुक्तिको ठूलो काम गरे भनेर पत्रिकामा समाचार र टेलिभिजनमा दृश्य देखाएर मख्ख छन्। पार्वतीले महादेव पति पाउनका निमित्त गरेको व्रतलाई महान् मान्ने हो भने अब महिला समानताका कुरा नगरे हुन्छ। महादेवले जति महिलालाई शोषण अन्य कुनै व्यक्तिले गरेनन्। यस्तो अवस्थामा उनकै नाममा महिलाले भएभरका सबै त्याग गर्ने हो भने हाम्रो धर्म, संस्कृति पुरातनवादी नै हो। तीजको नाममा दिनदिनै भोज खाएर दाँत कोट्याउने संस्कृतिको विकास गर्ने हो भने तीज पर्व नमाने हुन्छ।

रातो सारी र छड्के तिलहरी

पहिरन कस्तो लाउने यो व्यक्तिको आफ्नो अधिकारको कुरा हो। शरीरलाई जिरो फिगर बनाउने भनेर कयौं महिलाले खाना खानेबित्तिकै मुखमा औंला हालेर भोमिटिङ गरेको पनि देखियो। पुरुषले आफ्नो अनुकूल महिलाको शरीर बनाउन मनोवैज्ञानिक दबाब दिएको हुन्छ। पुरुषका लागि ‘राम्री’ हुने भनेर खाना नखाएर टिबीको बिरामी भएर अकालमै मृत्युवरण गरेका महिला पनि छन्। तीजमा फेसन गर्ने होडबाजी पनि विकृतिका रुपमा मौलाउँदै छ। यतिखेर बजार तीजको तयारीले रंगीन बनेको छ। रातो सारीको बजार ह्वात्तै बढेको छ। सितारा, टिना चुरापोतेको बजार गरमागरम छ। महिला भोजमा कुन सारी, कुन स्यान्डल, कुन गहना लगाउने भनेर साथीसंगीसँग भलाकुसारी गर्दै छन्। वर्ष दिनको तीजमा राम्रो सारी किन्ने भनेर रकमको जोहो हुँदै छ। सारीमाथि लगाउने छड्के तिलहरीको माग सायद शिक्षित महिलाले पनि गर्दै छन्। महिला मुक्तिको भाषण छाट्ने महिला नै यो विकृतिमा सामेल भएर हिडेको पनि देखियो। तीज झन्-झन् भड्किलो बन्दै छ। हुनेखानेलाई आफ्नो रवाफ, धन, दौलत प्रदर्शन गर्ने पर्वको रुपमा विकसित हुँदैछ तीज। महिलाले तीजको नाममा हुने भोजभतेरमा रातो सारी र तिलहरीको एकआपसमा चर्चा परिचर्चा गरेर बिताएका छन्।

रत्यौली कि तीजगीत ?

हिजो नारीलाई बन्धनमा राखेर पुरुषमात्र बाँच्ने दिन थियो। महिलाका भावनात्मक कुण्ठा रत्यौलीको गीतमा पोखिन्थे। पुरुषको कब्जामा रहेको यौनलाई महिलाले अलिकति भावनामा पोख्ने थलो रत्यौली थियो क्यारे। सँधै यौनको विषय आफ्नो कब्जामा राख्ने पुरुषलाई महिलाले यो विषयलाई रत्यौलीमा सम्प्रेषण गर्दा उसलाई ठोस लागेको हुनुपर्छ। अनि रत्यौलीलाई पुरुष मनोग्रन्थीले नाक खुम्च्याएर सुन्ने गर्छ। कतिपय ठाउँमा त रत्यौली पुरुषले लुकेर हेरेका छन्। पुरुषले रत्यौली हेरे आयु घट्छ पनि भनिन्छ। पुरुषले महिलालाई होच्याउन उनीहरूको संवादलाई रत्यौली भन्नेसमेत गर्छन्। वास्तवमा तीज रत्यौली गाउने पर्व होइन। हिजो वर्ष दिनसम्म पराई घरमा भोगेका दुःख कष्ट र गाउँघर, समाज परिवारले महिलामाथि गरेको थिचोमिचोलाई गीत, संगीतमार्फत् पोख्ने चलन थियो। यति बेला तीजको गीतमा दाजुबहिनीसँगै बसेर हेर्न र सुन्न नसकिने शब्द र दृश्य छन्। आधुनिकताको नाममा चार्डपर्वको मौलिकता हराउँदै गएको छ। तीजको अपनत्व नै हराउने गरी तीजगीत गाउनुको के अर्थ रहन्छ र – महिलामाथि हुने बर्बर दमन, शोषण, अन्याय, अत्याचार र मुक्तिका उपायबारे दर्जनौं गीत गाउन सकिन्छ। हिजोझैं बाबाले लोग्ने वा दाजुभाईले गहना कमाई दिएनन् भनेर गीत गाउनुको अब कुनै अर्थ छैन। हो, हिजो आजको जस्तो सञ्चारको माध्यम थिएन। समाजमा घटेका राम्रा-नराम्रा सबै घटनाहरु छोरीचेलीले गीतमार्फत् सुनाएर थाहा जानकारी हुन्थ्यो। तीजको गीत सञ्चारको सशक्त माध्यम पनि थियो।

अन्त्यमा

तीजको मौलिकपन व्रतमा पनि छैन, गीतमा पनि छैन र दर खाने परिपाटीमा पनि छैन। चार्डपर्वको मौलिकता बचाएर राख्न सकियो भने सम्पूर्ण मानव समुदायका लागि गौरव हुन्छ। अहिले दरको नाममा भोज खुवाउने चलनले दिदीबहिनीलाई जमघट त बनाएको छ तर तीजको नाममा विकृति र विसङ्गति भित्रयाएको छ। मौलिक गीत गाएर थपडी बजाउँदै नाच्ने चलनलाई विभिन्न थरीका बनीबनाउ गीतले विस्थापित गरेको छ। दिदी लिन जाने चलनलाई मोबाइलले विस्थापित गरिदियो। आधुनिक सञ्चार प्रविधिले संसार साँघुरो बनायो। साथसाथै हिजोको मीठो आत्मीयता पनि हरायो। व्यक्तिको भावनाभन्दा प्रविधि बोल्न थाल्यो। शिव र पार्वतीको कथामा आधारित तीज आज डिस्को रमाउने भयो। तीजको भोज खुवाउने चलनले पार्टीप्यालेसको व्यापार त बढेको छ तर तीजको मौलिकता खस्केको छ। यति बेला दिदीबहिनीलाई चटारो छ भाइखलकको तीजको भोज खान, टोलको तीजको भोज खान, सहकारीको तीजको भोज खान, सर्म्पर्क सदनको भोज खान, पार्टीको तीजको भोज खान। भोज खुवाउने आयोजकले महिलाको आत्मनिर्णयको अधिकारबारे कहिलै कुरा गरेनन्। तीजको भोज खान हिड्ने आमा, दिदी, बहिनीले आफ्ना छोरीलाई पार्वतीले झैं पति आफै रोज्ने हक कहिलै दिएनन्। आफै पति रोजेर विवाह गर्ने छोरीहरूलाई कतिले बहिष्कार नै गरेका छन्। कतिले तिरस्कार गरेका छन्। यस्तो गलत प्रवृत्ति पालेर तीज मान्नुको कुनै अर्थ छैन।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width